राजनीति

माधव नेपालले यसरी सम्झे मदन भण्डारीलाई

काठमाडौं । आज असार १४ गते एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्ती । थोरै समय एमालेको महासचिव बनेका भण्डारी पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवादका प्रतिपादक पनि हुन् । आजसम्म एमालेले भण्डारीकै सिद्धान्तलाई अंगीकार गरिरहेको छ ।

मदन भण्डारीको ७०औं जन्मजयन्तीलाई एमालेले विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ । उनको ०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा निधन भएको थियो ।

एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारीलाई सम्झँदै उनले प्रतिपादन गरेको सिद्धान्तअनुसार नयाँ शिराबाट पार्टी एकता गर्न आह्वान गरेका छन् ।

माधव नेपालले जारी गरेको अपिलमा भनिएको छ–

अधिनायकवाद तथा निरंकुशता विरुद्ध लामो संघर्ष गरेका सहयोद्धा कमरेड मदन भण्डारीको नेतृत्वमा हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र हाम्रो देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको नयॅा आधार निर्माण गर्यौं। यसै सन्दर्भमा कम्युनिष्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुख( सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो।

शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दु:खद अवस्था हो । अतः विद्यमान वैचारिक, राजनैतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति,विसंगति,सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आव्हान सहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *