काठमाडौ । १२ घण्टाको बहसपछि प्रतिनिधि सभा विघटन मुद्दामा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका वकिलहरूको बहस सकिएको छ।
संसद विघटनको मुद्दामा शेरबहादुर देउवासहित १४६ सांसद रहेको रिट निवेदकका तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्। इजलासले रिट निवेदक पक्षलाई बहसका लागि १२ घण्टा समय दिएको थियो। उक्त समयभित्र ३६ जनाले बहस गरेका हुन्।
पहिलो दिन बुधबार ५, बिहीबार ९ र शुक्रबार ६ जनाले बहस गरेका थिए। अन्तिम दिन आइतबार १६ जनाले बहस गरेका हुन्।
अब रिटका विपक्षी अथवा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखका कानुन व्यवसायीको बहसपछि ३ घण्टा जवाफी बहस गर्ने छन्। विपक्षीलाई १५ घण्टा समय दिइएको छ। अब भोली सोमबारबाट सरकार पक्षका वकिलको बहस सुरू हुनेछ। सरकार पक्षबाट महान्यायाधीवक्तासहित ११ अधिवक्ताले बहस गर्नेछन्।




