कास्की । गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का केही सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीका सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले १५ दिन पछि मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय तथा अधिकारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै छन् । विनाविभागीय रहनुभएका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङलाई जिम्मेवारी दिइएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले १५ दिन भइसक्दा पनि मन्त्रीहरूलाई मन्त्रालय तोकेर जिम्मेवारी दिन सकेका छैनन्।




