काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा राख्ने निर्णय गरेको ।
आज बिहान बालुवटारमा आयोजित बैठकले दसौं महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते काठमाडौंमा राख्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठक सकिएलगत्तै सञ्चारकर्मीसँग पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने, ‘एमालेको नवौं स्थायी कमिटी बैठक भर्खरै सकियो, बैठकमा पछिल्लो राजनीतिक स्थिति, कोरोना महामारी, प्राकृतिक विपत्ति र राजनीतिक आयामका विषयमा संक्षिप्त तर गहन छलफल गर्यौँ।’
उनले अगाडि भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’
यस्तै महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।
तर गत जेठ २७ गते कर्णाली प्रदेशका बर्खास्त एमालेका ४ सांसदलाई पुनर्बहाली गर्दै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा पछि बनेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएको र त्यसले गरेका निर्णय मान्य नहुने उल्लेख छ।




