राजनीति

बालुवाटार बैठकमा माधव नेपालको चर्चा, पार्टीमा एकता अझै हुनसक्ने निष्कर्ष

काठमाडौं । एमालेको स्थायी कमिटी बैठकले अझै पनि पार्टीमा एकता कायमै हुने निष्कर्ष निकालेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार सम्पन्न बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

एमालेको स्थायी समितिको बैठकको अधिकांश समय निष्कासित नेता माधवकुमार नेपालको चर्चामै बितेको थियो । पार्टी एकताको सम्भावना कायमै रहे पनि ‘कतिपय नेताहरूका व्यवहार एकतासँग ठ्याम्मै मिल्ने खालका नरहेको’ पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्।

स्थायी समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी एकतामा आफूहरूले ‘आशा नमारेको’ बताए। उनको भनाइ थियो, ‘एमालेलाई थप कमजोर गर्ने, विभाजित गर्ने, वर्तमान सरकारलाई जसरी पनि विस्थापित गर्ने र प्रतिपक्षलाई काँधमा राखेर उनीहरूलाई श्रेष्ठ देखाउने गम्भीर विरोधाभासहरू भएका छन्।’

शनिवार विपक्षी गठबन्धनका नेताहरूसहित संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा नेता माधवकुमार नेपालले आफूलाई ‘प्रधानमन्त्रीको अफर आइसकेको’ बताएका थिए। तर उनले शेरबहादुर देउवाको पक्षमा गरिएका ‘हस्ताक्षर फिर्ता लिने र विपक्षी गठबन्धनलाई धोका दिने कुनै सम्भावना नरहेको’ प्रस्ट पारेका थिए।

एमाले स्थायी कमिटी बैठकले असार १६ गते दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ । तर सर्वोच्च अदालतको २७ जेठमा एक अन्तरिम आदेशमार्फत् दशौँ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई वैधता दिन नसकिने निर्णय गरेको थियो। जस क्रममा पार्टीले हटाएका कर्णाली प्रदेशका चार एमाले सांसदसमेत पुनर्बहाली भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *