रिबन

कांग्रेसभित्र अप्ठेरोमा पौडेल

आजका पत्रपत्रिकामा फरक फरक विषयलाई स्थान दिइएको छ । नागरिक दैनिकले कांग्रेसभित्र अप्ठेरोमा पौडेल शिर्षकमा समाचार छापेको छ ।
‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो । पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् । संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए ।
अन्नपूर्ण पोस्ट्ले बगरमा जब पैसा फल्यो शिर्षकमा समाचार छापेको छ । कुनै बेला असार–साउनमा बाढीको भेल र चैत–वैशाखमा खोलाको बालुवा उड्ने रातु खोलाको बगर अहिले हराभरा छ। महोत्तरीको भंगहास्थित २ सय ४२ बिघा बगर किसानको पाँच वर्षको कठोर परिश्रमले ऊर्बर बनेको हो।

खोलाको बगरमा आँप लटरम्म फलेका छन्। लिची, कागतीको बोट लहलह हुर्किँदैछन्। त्यहाँ उब्जाएका परबल, भान्टा, रामतोरिया, फर्सी, लौका, काँक्रो, खुर्सानीजस्ता सागसब्जी बिक्री गरेर किसान मालामाल बनेका छन्। तर्बुजा खेती गरेका छन्। विभिन्न जातका २० हजारवटा फलफूलका बिरुवा रोपिएका छन्। ६१ बिघा जमिनमा वृक्षरोपण गरेर किसानले खाली जमिनमा खेतीपाती पनि गरिरहेका छन्। बगर खेतीले २ सय ४८ घरपरिवारको जीवन फेरिएको छ। २५ दलित परिवारलाई ऐलानी जग्गा दिएर आँपको बोट र खेती गर्न प्रोत्साहित गरिएको छ।

चार दशकअघि रातु खोलाको भीषण बाढीले भंगहा नगरपालिकाको पर्सा, संग्रामपुर, कविलाशा, मेघनाथ गोरहन्नाको खेतीयोग्य जमिन कटान गरेको थियो। किसानको कन्तबिजोग मात्रै भएन, उठीबासै लगायो। ‘खेतमा लहलह झुलेका धान र मकै खेतमा बाढीको भेल कुद्न थाल्यो,’ पर्साका ५६ वर्षीय किसान रामनारायण सिंह भन्छन्, ‘छिनभरमै बालुवाले खेतको बालीनाली पुरिदियो। उर्बर भूमि बन्जर बनायो। किसान भूमिहीन भए।’ २०३२–०३३ सालको रातु खोलाको वितण्डा उनले यसरी सुनाए।
रोइरहन्छ दिलमायाको दिल शिर्षकमा समाचार छ । ओखलढुंगाबाट २० वर्षअघि ठूलो सपनाको पोको बोकेर बालबहादुर र दिलमायाको जोडी मधेस झरेको थियो। सन्तानको सुन्दर भविष्य अनि गतिलो शिक्षा–दीक्षाको चाहनाले उनीहरूलाई बसाइँ हिँडाएको थियो।

पहाडमा पाखो पखेरोबाहेक केही थिएन। साथमा त्यो सपना पूरा गर्ने सम्पत्ति पनि त थिएन। करिब ३ वर्ष उदयपुरका ठाउँ–ठाउँमा अनेकखाले ज्याला मजदुरी गरे। अन्ततः १७ वर्षअघि काम र सहाराको खोजीमा उदयपुरको कटारी, बरमझिया गाउँका शिवहरि दाहालको परिवारसँग ठोक्किन पुगे। उनीहरूले उनको खेतीपाती धानिदिने, बदलामा दाहाल परिवारले आफ्नो सानो जग्गामा झुप्रो बनाएर ज्यान ओत्याउन दिने समझदारी भयो।

नेपाल समाचार पत्रले प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा शिर्षकमा समाचार छापेको छ । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे(यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भन्नुभयो– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपालधोका दिने मान्छे होइन ।’ उहाँले भन्नुभयो– ‘यो एमाले भित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाजहो । लोकतान्त्रिक प्रक्रियाबाट पनि ताना शाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *