काठमाडौं । पूर्वमाओवादीहरु एमालेमा समायोजन हुनका लागि सूचि बनाउन रामबहादुर थापा समूहका नेताहरुबीच अनौपचारिक छलफल भएको छ । नेकपा विभाजनपछि माओवादीका नेताहरु केपी ओली पक्षमा लागेका नेता र कार्यकर्ताहरू एमालेमा स्थान दिन छलफल भएको हो । उनीहरुलाई राष्ट्रिय प्रतिनिधि परिषद् तथा प्रदेश कमिटी लगायतका संरचनामा समायोजन गर्ने विषयमा छलफल भएको थियो ।
उनीहरुको समायोजनका लागि शनिबार पूर्वमाओवादी समूहका नेताहरूबीच अनौपचारिक छलफल भयो । रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, प्रभु शाह लगायतका नेताहरुबीच भएको छलफलमा सांगठनिक समायोजनमात्र नभएर वैचारिक एकताका विषयमा समेत एकमत हुनुपर्ने कुरा उठेको हो ।
स्थायी कमिटी सदस्य मणि थापाले भने ‘विभिन्न कमिटीहरुमा समायोजन लगायतका विषयमा छलफल छ।’ बादल समूहका नेताहरुले एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, केन्द्रीय निकाय र विभागहरुमा समायोजनका लागि पूर्व माओवादीबाट एमालेसँग एकीकृत भएका नेता कार्यकर्ताको सूचीमाथि समेत छलफल भएको बताएका छन् ।
नेकपा विभाजनपछि ओली पक्षले साबिक नेकपाको ४ सय ४१ सदस्यी केन्द्रीय कमिटीमा बढाएर बनाएको १ हजार सदस्यीय केन्द्रीय कमिटीका नयाँ सबै सदस्यहरु राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुने निर्णय भएको छ ।
एमालेका विभिन्न विभाग र निकायहरुमा पनि पूर्व माओवादीको समायोजन गर्नका लागि गृहकार्य भइरहेको छ । संगठन विभागले तयार पारेको विवरण अनुसार महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव तयार पारिरहेको बताइएको छ ।




