कला/साहित्य

मेरो कोठा

नयाँ तन्ना फेरिएसँगै बेडमाथि
रातभर सुन्दर सपनाहरू पौडी खेल्छन्
दिशा–निर्देशको गर्दै सङ्केत
पुराना सम्झनाका तरेलीहरू तैरिएर खल्वाटमा
भर्छन् पूर्वकालीन यादगार र स्मारिका ।
० ० ०


लेखनको डायरी मलाई नै च्याउँछ टेबुलबाट
एउटा अबोध शिशुझँै खोजेर मेरो सहारा
टुकुटुकु हिंड्न चाहन्छ मेरो लेखनी
लाग्छ, मेरो उमेरसँग नै गरिरहेछन् यी खेलबाड
अनि विविध तरङ्गमा मेरो कोठा
मेरै आयुसँग खेलिरहेछ बयेली ।
० ० ०


दिनहुँ छिप्पिंदो जिन्दगी बोकेर
बाहिरिन्छु म अन्जान यात्रामा
मभन्दा समय हतारिन्छ
समयसित जिस्किदै फेरि भित्रिन्छु म
समय बुढिंदैन तर म भने
स्वयं बुढिने हतारोमा हुन्छु
मेरो कोठासित कुनै बुढ्याइँको सरोकार छैन
न हतारो न त छ चटारो
न त म बाहेक अरूलाई गलहत्याउने होस छ उसमा
म जस्ता धेरैलाई फटाउन सक्छ उसले
थकाउन सक्छ र हटाउन पनि
तर म उसलाई फटाउन भ्याउँदिन र पठाउन पनि ।
म उसलाई रंगाउँछु सजाउँछु
स्याहार सुसार गर्छु हरेक पल
लाग्छ ऊ पनि मलाई स्याहार्न गौरव गर्छ
मेरो जिन्दगी फटाउन मद्दत गर्छ
शिथिलता मेरो बढाउन मद्दत गर्छ
फरक यत्ति छ
म उसको छातीमा चाबी झुण्डयाएर
हरेकदिन बिदाईका हात हल्लाउँछु
तर उसले कुनै दिन केही गरी
बिदाईको हात हल्लाउन भ्याएछ भने
फेरि फर्केर सायद
उसभित्रको सुखद आसनमा
सुस्ताएर बसिरहन भ्याउँछु या भ्याउन्नँ म ।
० ० ०

पदम दाहाल
मादी न.पा.–०६, संखुवासभा
हालः भक्तपुर, लोकन्थली

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *