काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया सुरु हुन एक महिना मात्र बाँकी रहेका बेला पार्टीका नेताहरुको भेटघाट र दौडधुपले तीब्रता पाएको छ । कांग्रेस नेतृत्वको बागडोर सम्हाल्न जोड घटाउन र समीकरणको चर्चाले गाउँघर मात्र होइन, सामाजिक सञ्जालसमेत ढाकिएका छन् ।
महाधिवेशन लक्षित गरेर पार्टी सभापति शेरबहादुर देउवाले भेटघाट सुरु गरेपछि अन्य नेताहरुले पनि आ–आफ्नो ढंगले अभियान सुरु गरेका छन् । यसपटक संस्थापन र संस्थापन इतर भनेर खासै चर्चा भएको छैन । प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधिको समीकरणले यतिबेला विशेष चर्चा पाएको छ ।
यी तीनजनाबाट एकजना साझा उम्मेदवार छान्ने प्रयत्न भइरहेको छ । यसका लागि आज शुक्रबार र गत असार ८ गते छलफलसमेत भयो । भित्री रुपमा छलफल कसरी अगाडि बढेको छ, त्यो सार्वजनिक भएको छैन । तर बाहिर निस्कँदा कार्यकर्तालाई सकरात्मक सञ्चार प्रवाह हुने अभिव्यक्ति दिने गरेका छन् ।
पार्टी सभापति देउवाले भेटघाटलाई तत्काल स्थगित गरेर आफ्ना सहयोगीसँग रणनीति निर्माणमा जुटेका छन् । सभापति देउवाको टिम केही दिनमै आक्रमक ढंगले उत्रने बताइएको छ । यतिबेला सबै भ्रातृ संस्था, शुभेच्छुक र सहयोगीहरुलाई कसले कसरी परिचालन गर्ने भन्ने विषयमा बुढानीलकण्ठमा रणनीति बन्दै गरेको सूचना संकल्प खबरलाई प्राप्त भएको छ ।
यता, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्ना सहयोगीसँग भेटघाट गर्न थालेका छन् । वरिष्ठ नेता पौडेलको भेटघाट त्यत्ति उत्साहित देखिँदैन । कोरोना संक्रमणले गर्दा पनि उनले चाहेजसरी भेटघाट गर्न नपाएको उनका सहयोगीहरु बताउँछन् । आफूभन्दा पनि दोस्रो पुस्ताका नेताहरुको सक्रियताले पौडेलको भेटघाट फितलो देखिएको दियालो फुडल्यान्डमा आज आयोजना गरेको भेटघाटबाट स्पष्ट हुन्छ ।




