काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विपक्षी गठबन्धनको सेटिङ रहेको बताएका छन् । सर्वोच्च अदालत विपक्षी गठबन्धनको सेटिङमा चलेको आरोपसमेत लगाए ।
परराष्ट्र नीति अनुसन्धान प्रतिष्ठानले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् ।
मन्त्रिपरिषद विस्तारलाई बद्दर गरिदिने अदालतको आदेश विपक्षी गठबन्धनकै सेटिङमा आएको प्रधानमन्त्री ओलीले गम्भीर आशंका व्यक्त गरे । प्रचण्डले भने अनुसार नै अदालतले मन्त्रिपरिषद विस्तार बद्दर गर्ने आदेश दिएको प्रधानमन्त्री ओलीको टिप्पणी थियो ।
संसद विघटन र प्रधानमन्त्री नियुक्ति सम्बन्धमा अहिले अदालतले हेरिरहेको मुद्दा राजनीतिक भन्दै प्रधानमन्त्री ओलीले राजनीतिक विषय अदालतले हेर्न नहुने बताए । राजनीतिक विषयलाई अदालतमा लगेको भन्दै प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनप्रति कडा आपत्ति जनाए ।
संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद दुइ पटक विस्तार गरेका थिए । तर त्यसलाई असंवैधानिक ठहर गर्दै अदालतले बदर गरिदिएको थियो । यसमा प्रधानमन्त्री ओलीको गम्भीर असन्तुष्टि छ ।




