विचार

भ्रष्ट शासक र बाह्य हस्तक्षेप

भ्रष्ट शासक कस्तो हुन्छ ? यस बिषयमा २०४५ सालमा वरिष्ठ हास्यब्यङ्ग्य कलाकार हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठले लन्डनमा ‘लन्डन एयरपोर्ट’ भन्ने नाटक प्रहशन गरेको पहिलो पटक टेलिभिजनमा हेरेको थिएँ । प्रजातन्त्रको बारेमा ब्यांग्यात्मक प्रहशन गरिएको थियो । प्रजातन्त्र कस्तो हुन्छ ? प्रजातन्त्र सिपाहीको हातमा प¥यो भने सिपाही जस्तै हुन्छ, बहुलाहाको हातमा प¥यो भने बहुलाहा जस्तै हुन्छ, बाँदरको हातमा प¥यो भने बाँदरजस्तै हुन्छ । अहिले हाम्रो प्रजातन्त्र यो तीनवटै गुण भएको ब्यक्तिको हातमा परेको छ । बहुलाहा र बाँदरजस्तो गुण भएको शासकले जुनसुकै बेला राष्ट्र भद्रगोल र छिन्नभिन्न बनाउँछ । देश र जनताप्रति हेक्का नराख्ने शासकले राष्ट्रहित विपरित जतिबेला जे निर्णय पनि गरिदिन सक्छ । संविधान, ऐन कानुन मेरो तजबिज अनुसार चल्छ भन्ने मनोविज्ञान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीमा देखिएको छ । संविधानलाई कागजको खोष्टो ठान्ने ओली आफू कुन संविधानअन्तर्गत प्रधानमन्त्री बनेका हुँ, त्यो पनि ख्याल हुनुपर्छ कि पर्दैन ? देशलाई अन्धकारमा धकेल्ने वैदेशिक गोटीको रुपमा ओली फ्रन्ट लाइनमा उभिएका छन् ।

नेपाली जनतालाई बेवकुप बनाएर समृद्धिको सपना बाढिरहेका छन् । राज्य संयन्त्रलाई निकम्मा बनाइसके । राज्य फेलियर स्टेटतिर जाँदैछ । यस्तो शासकलाई भ्रष्ट शासक नभनेर के भन्ने ? ओलीको मुखबाट यस्तो पनि सुनियो, म भ्रस्टाचारिको मुखै हेर्दिन, तर उनले आफ्ना वरिपरि भ्रष्टाचारीलाई काखी च्यापेर राख्नुभएको छ । उनका आसेपासेलाई भ्रष्टाचार गर्न छुट छ । व्यापार घाटा बढेको छ । स्वदेशी उद्योग धारासायी बन्दै छन् । चुरे उत्खनन गरेर व्यापार घाटा कम गर्ने बकम्फुसे कुरा गरेर तराई मरुभूमि बनाउने अभियानमा छन् । अर्थतन्त्र ध्वस्त नै बनाइसके । ओलीको कार्यकालको सुरुआतमा ऋणभार ८ खर्ब ४३ अरब थियो भने अहिले दोब्बर बढेर १५ खर्ब ८९ अरब पुगेको छ । साढे तीन बर्षको अवधिमा प्रतिब्यक्ति नेपालीको टाउकोमा ऋणभार ५२ हजार थपिएको छ । अब त अलिक ओलीको बुद्धि फिर्छ कि भनेको १२ वर्षसम्म कुकुरको पुच्छर ढुंग्रोमा हाल्यो बाङ्गाको बाङ्गै । झनझन राष्ट्र टाट पल्टने अवस्थामा आइपुगेको छ ।

पढेलेखेका बौद्धिक कम्युनिष्ट जमातले पनि कम्युनिष्ट वाद बल्ल बुझ्दैछन् । धेरै क्रान्तिकारी हौं भन्ने कम्युनिष्टहरुले कम्युनिष्ट दर्शन त्याग गर्दैछन् । जसमध्ये ओलीका सहपाठी राधाकृष्ण मैनाली, देबी ओझा, मोहनचन्द्र अधिकारी पूर्व माओवादीमा रहेका डाक्टर हरि रोका, विरेन्द्र झापाली, भरत दाहाल, प्राध्यापक डा.रामप्रसाद उप्रेती आदि । डा.रामप्रसाद उप्रेती ओलीकै गाउँमा जन्मिएर हुर्किएका र ८-९ कक्षासम्म सँगै स्कुले जीवन बिताएका कम्युनिस्ट बिचार र दर्शनबाट प्रभावित व्यक्ति हुन् । अहिले उहाँ पश्चाताप गर्दै भन्छन– ‘म मानव शरिरको बारेमा पढाउने प्राध्यापकले मानव शरीरको बारेमा न बुझेको रहेछु । म भन्थें वा मैले मेरो विद्यार्थीलाई मानव शरिर भनेको भौतिक, मानसिक र सामाजिक भनेर पढाउँथे । तर यो तीन चिजमात्र मानव शरीर होइन रहेछ । मानव हुनको लागि आध्यात्मिकता पनि चाहिने रहेछ । आध्यात्मिक बिना जीवन अपुरो हुदोरहेछ । यदि सन् १८४८ मा कार्ल माक्र्सले हाम्रो वेद र गीता अध्ययन गरेको भए कम्युनिष्ट मेनिफेस्टो नै आउदैन थियो भन्नुहुन्छ । जब मैले नेपाली कांग्रेसका सन्त नेता किसुनजी को सादगी जीवनी बुझें, आध्यात्मिकता बुझें तब मैले अंगिकार गरेको वाद यो समाज र यो संसारलाई काम नलाग्ने रहेछ । त्यस्तै अर्का पूर्व कम्युनिष्ट नेता देवी ओझा भन्नुहुन्छ– ‘हामीलाई सधैं बीपी र कांग्रेसलाई गाली गर्न मात्र सिकाइन्थ्यो ।

जति कांग्रेसलाई गाली गर्र्यो त्यति क्रान्तिकारी भइन्थ्यो । अहिले उहाँहरु कम्युनिष्ट चेतबाट बाहिर निस्किनु भएको छ । अहिले कम्युनिष्टका ताण्डव नृत्य देख्दा धेरै विद्वान कम्युनिष्टहरुले मानवता र कम्युनिष्ट दर्शनमा भिन्नता पाउनुभएको छ । यौवन र उर्जाशील समयमा हत्या, हिंसा र उपद्रो गर्नमा समय व्यतित गरेपछि समय घट्किएपछि पश्चाताप गर्नुको के अर्थ ? त्यसकारण ओलीका उपबुझ्रुक लठुवाहरुलाई अन्धाले हात्ती छामेजस्तो नगरी स्वविवेक प्रयोग गर्न सिक । नेताले गरेको गलत र राष्ट्रघाती कामको आलोचना गर्ने हिम्मत गर । तबमात्र तिमीहरुको आत्मसम्मान कायम रहन्छ । स्वाभिमान कायम रहन्छ ।

भारतीय हस्तक्षेपः

सन् १९४७ मा भारत स्वतन्त्र भएपछि पनि भारतले नेपाललाई हेर्ने आँखा ब्रिटिस उपनिवेश कालकै रहदै आयो । तात्कालिक भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरुको व्यबहार पनि त्यस्तै झल्कियो । वि.सं.२००७ सालदेखि अहिलेसम्म पनि भारत नेपाललाई डोमिनेसनमा आफ्नो अधिनमा राख्न चाहन्छ । नेपालको राजनीतिक ब्यबस्थापन आफ्नो अनुकूल राख्न चाहन्छ । नेपालको राजनीतिक दलभित्र आफ्नो अनुकूलको पात्रको खोजी गरेर उसलाई सत्तामा पुर्याउने र आफ्नो एजेन्डा स्थापित गराउन चाहन्छ । नेपालमा हुने आन्दोलन र परिवर्तनलाई आफ्नो साथ र सहयोग गरेजस्तो गरेर हस्तक्षेपकारी भूमिका निर्वाह गर्न चाहन्छ । नेपाली नेताहरुलाई स्वतन्त्रपूर्वक निर्णय लिनबाट वाधा ब्यवधान खडा गरिदिन्छ । नेपालमा भद्रगोल निम्त्याउन आफ्नो जासुसी संस्था ‘रअ’लाई विभिन्न माध्याम बाट घुसपैठ गराएको हुन्छ । नेपाली दलका नेताहरुको दरिद्र र दासी मानसिकताका कारण पनि उसले आफ्नो भूमिका देखाउन सहज भइरहेको हुन्छ । प्रधानमन्त्री ओलीको कार्यशैली त्यसैको उपज हुनसक्छ । मधेसी दललाई सरकारमा सहभागी गराएपछि भारत खुसी भयो भन्ने उनको अभिव्यक्ति त्यसैको एउटा कडी हुनसक्छ ।

वीपी कोइरालाको आत्मबृतान्तमा उल्लेख भएअनुसार २००७ सालको जनक्रान्तिपश्चात जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना गर्न राजा र नेपाली कांग्रेसको संयुक्त प्रयास थियो । वीपीले राजा त्रिभुवनलाई पाल्पा झिकाएर प्रजातन्त्रको स्थापनाको लागि आपसी सरसल्लाहको तयारी हुँदै थियो । तर अकस्मात त्यो कुरा तात्कालीक भारतीय राजदुत चन्द्रेश्वर नारायणप्रसाद सिंहले थाहा पाएर प्रधानमन्त्री नेहरुलाई जानकारी गराए । नेहरुले राजालाई तुरुन्त दिल्ली पठाउन भने र भारतीय राजदुतले राजा त्रिभुवनलाई राजदुतावासमा बोलाए र त्यहाँबाट बिशेष विमानबाट राजा त्रिभुवन दिल्ली प्रस्थान गरे ।

वीपी दिकदारीमा हुनुहुन्थ्यो । राजासँग भेट्न पाएको छैन । हिन्दुस्थानले पनि भेट्न दिदैन, राजाले पनि भेट्दैनन । म कतिपटक दिल्ली पुगें, राजाको छोरालाई भेटें, तर राजासँग भेट हुन सकेन । राजा त्रिभुवन हिन्दुस्थानको नियन्त्रणमा थिए । यो कुरा वीपीको आत्मबृतान्त पृष्ठ ११७-११८ मा उल्लेख छ । वीपीको भनाइ अनुसार भारतीयहरुको दुईवटा दाँत छन् । एउटा देखाउने दात अर्को चपाउने दाँत । यिनीहरुले हामीलाई धोका दिन्छन । नेपालको राजनीति गिजोल्ने काम मात्र भारतले गर्छ । यसरी नेपाल एकपछि अर्को बाह्य हस्तक्षेपको भूमरीमा पिल्सिएको छ ।

सहयोगको नाममा नेपालको प्राकृतिक श्रोत साधनमाथि कब्जा जमाउन चाहन्छ । नेपाल माथि सदैव उसको गिद्धे दृष्टि रहिरहन्छ । आफ्नो राष्ट्र र स्वाभिमान रक्षाका लागि सम्पूर्ण नागरिक, बौद्धिक वर्ग, एक ठाउँमा उभिएर बाह्य षड्यन्त्रलाई चिर्नु जरुरी छ । यदि ओली लेन्डुप प्रवृत्ति रहिरहेसम्म नेपालले ठूलो क्षति ब्यहोर्नु पर्नेछ । नेपालीहरुले समयमै बुझ्नु आवश्यक छ । अन्यथा नेपालीको निकै वियोग र दुखान्तको दिन टाढा छैन् । ६ अप्रिल १९७५ मा जसरी इन्दिरा गान्धीले स्वतन्त्र सिक्किम अधिराज्य भारतको २२ औं प्रान्तमा बिलिन गराइन । तात्कालिक सिक्किमका प्रधानमन्त्री लेन्डुप दोर्जे भारतको हितमा राजसंस्थाबिरुद्ध प्रयोग भए । अन्ततः राजसंस्थाको अन्त्य मात्र होइन न सिक्किम रह्यो न सिक्किमेली जनताको स्वाभिमान रह्यो । रह्यो त केवल लेन्डुप दोर्जेको भौतिक शरीर मात्र । जब इन्दिरा गान्धीको मिसन पूरा भएपछि लेन्डुप दोर्जे भारतद्वारा अपमानित र घृणाको पात्र बने ।

त्यसकारण नेपालको विकासको बाधक भारत नै रहेको उसको बिगतको इतिहास र वर्तमान व्यवहारबाट स्पष्ट हुन्छ । त्यसैगरी इरानी पूर्वराजा मोहम्मद रेजा पहल्वीको दम्भ र अहंकारका कारण इरानमा राजसंस्थाको अन्त्य भएको थियो । ११ फ्रेबुअरी १९७९ मा इरानको जनक्रान्तिद्वारा राजसंस्था समाप्त भयो । उनी भागेर इजिप्टमा शरण लिन पुगे । उनले पश्चाताप गर्दै भनेका थिए । जब म इरानमा थिएँ, इरान बुझ्न सकिनँ । जब म इरानमा छैन इरान बुझेको छु । २७ जुलाई १९८० मा उनको इजिप्टमा निधन भयो । कुनै पनि निरंकुश शासकको पतन आफ्नै अहंकारले हुन्छ । त्यसकारण वर्तमान प्रधानमन्त्री ओलीले इतिहासबाट पाठ सिक्नु उहाँहरु स्वयंको भलाई हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *