काठमाडौं । सर्वोच्च अदालतको आन्तरिम आदेशबाट भर्खरै पद गुमाएका पूर्वगृहमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद विस्तारसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो आदेश प्रचण्डको इशारामा आएको हुनसक्ने बताएका छन् । उनले सर्वोच्च अदालतले जनआस्था गुमाउँदै गएको टिप्पणीसमेत गरे ।
मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि अधिकारीले यस्तो टिप्पर्णी गरेका हुन् । सर्वोच्चको पछिल्लो फैसलाले अदालतप्रतिको जनआस्था गुम्न सक्ने चिन्ता बढेको उनले बताए ।
पूर्वमन्त्री अधिकारीले भने, अदालतका पछिल्ला काम असंगतिपूर्ण र अमिल्दा छन् । सर्वोच्च अदालतले फ्लोर क्रस गर्ने सांसदको पद जोगाइदिएको तर फ्लोर क्रस नै नगरेका सांसदको पद खाइदिएको छ ।’ सर्वोच्च अदालत राजनीतिक विषयमा अनावश्यक ढंगले सक्रिय भएको आरोप उनको थियो ।
हिमालय टेलिभिजनमा यक्षप्रश्न कार्यक्रमका सञ्चालक राजेन्द्र बानियाँसँगको कुराकानीमा सर्वोच्च अदालतप्रति पूर्वगृहमन्त्री अधिकारीले यी आक्रोस पोखेका हुन् । बानियाँसँग गरिएको कुराकानी बिहीबार राति ९ बजे प्रशारण हुने हिमालयनटिभी डटकमले उल्लेख गरेको छ ।




