राजनीति

ओली कदमविरुद्ध विपक्षी गठबन्धन सडक संघर्षमा, पाँच विद्यार्थी संगठनको प्रदर्शन आजै

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध विपक्षी गठबन्धन आजदेखि सडक संघर्षमा उत्रिने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह, जसपाको उपेन्द्र यादव पक्ष तथा राजमोले सडक संघर्ष सुरु गर्न लागेका हुन् ।

यस विषयमा रायसुझाव लिन आज विपक्षी गठबन्धनले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रम राखेका छन् ।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरूद्ध जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार बसेको बैठकले जनपरिचालनको कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको हो ।
कोभिड संक्रमण कम भइरहेको र बाढीपहिरो पनि रोकिएको अवस्था रहेकाले अब सडक संघर्षमा जाने विषयमा विपक्षी गठबन्धनबीच सहमति भएको छ ।

संघर्षका कार्यक्रम बनाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, एमाले नेता भीम रावल, माओवादी केन्द्रका नेता देव गुरूङ र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेको कार्यदल नै बनाइएको छ ।

बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा स्वास्थ्य मापदण्डको पालना गर्दै जनपरिचालनका कार्यक्रम ल्याउने निर्णय गरेको हो । यसअघि मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हस्तक्षेप, दबाब, धम्की र संकीर्ण स्वार्थका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको थियो । सरकारविरूद्ध पाँच विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *