काठमाडौं । सर्वोच्च अदालतको मंगलबारको आदेशले सबैभन्दा बढी कोही खुसी भएको छ भने त्यो जसपाको उपेन्द्र यादव पक्ष नै हो ।
पार्टीलाई विभाजित गर्ने उद्देश्यअनुरुप नै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओली सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी भएको १९ दिनमै जसपाका ११ मन्त्रीको जागिर चैट भएको छ ।
जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष प्रधानमन्त्री केपी ओली प्रतिगमनकारी भएको भन्दै उनलाई जसरी पनि पदबाट हटाउनुपर्ने भन्दै लागिरहेको छ । तर, ठाकुर र महतो पक्षले भने केही सांसद आफूतिर तानेर ओलीलाई बलियो बनाउन लागिपरेको थियो । महन्थको सो निर्णयमाथि पनि अदालतले ठूलै खड्ग प्रहार गरेको छ ।
ओली सरकारमा जसपाबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, अनिलकुमार झा, उमाशंकर अरगरिया, एकवाल मिया, चन्दा चौधरीलगायतका मन्त्री बनेका थिए । उनीहरूले एक महिनाको तलबसमेत बुझ्न पाएनन् । अदालतको आदेशले जसपामा उपेन्द्र यादव पक्ष सही ठाउँमा रहेको देखिएको छ । तर, पनि ठाकुर र यादव पक्ष मिल्ने सम्भावना शून्य रहेको देखिएको छ ।
ठाकुर र महतो पक्षलाई ओली सरकारमा सहभागी हुने निर्णय आगामी निर्वाचनमा धेरै भारी पर्ने विश्लेषण पनि गर्न थालिएको छ । अदालतको आदेशलगत्तै महन्थ ठाकुरले असन्तुष्टि जनाइसकेका छन् ।




