राजनीति

ओलीको भ्याकेट निवेदनले एमाले तितरबितर

काठमाडौं । विभाजनको डिलमा उभिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा एकताको डंका पिटिएको छ । अन्ततः यो गोयबल्स शैलीमा पार्टी कब्जा गर्ने रणनीति मात्र रहेछ भन्ने प्रमाणित भइसकेको छ । आइतबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्चको आन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) को निवेदन दर्ता गराएपछि एकताको डंका पार्टी कब्जाको गोयबल्स शैली मात्र रहेछ भन्ने स्पष्ट भएको हो ।

सर्वोच्चले महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने आदेश दिएपछि नेकपा एमालेमा तरंग पैदा भएको छ। यो निर्णयले माधव समूहलाई थप बल प्राप्त भयो भने संस्थापन ओली समूह कमजोर बन्ने विश्लेषणसहित भ्याकेट निवेदन बोकेर सर्वोच्च पुगेको हो ।

उक्त निवेदनपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु एकताको हल्ला गरेर एक हुने अवस्था नरहेको निष्कर्षमा पुगेका छन्। खनाल–नेपाल समूह २०७५ जेठ २ को आसपासमा फर्किए एकता हुने बताउँदै थियो ।

ओलीले आयोजक कमिटी सदर गर्नुपर्ने भन्दै निवेदन दिएपछि एकता नचाहेको प्रष्ट भएको छ । खनाल–नेपाल समूहका एक नेताले भने, ‘सर्वोच्च अदालतको फैसला नमानेर भ्याकेटमा जाने अनि कसरी कुरा मिल्छ ? मिल्ने भनेर बाहिर गरिएको प्रचार पार्टी कब्जा गर्ने रणनीति मात्रै हो।

यता, माओवादी केन्द्र छोडेर एमालेमा मिसिएका नेताहरु पनि पार्टी अध्यक्ष ओलीसँग असन्तुष्ट मात्र होइन, पार्टी छोडेर जाने अल्टिमेटमसमेत दिइसकेका छन् । पार्टी अध्यक्ष ओलीले आफूहरुलाई भुलभुलाइमा राख्ने रणनीति बुझेपछि उनीहरुले पार्टी छोड्ने चेतावनी दिएका हुन् । माओवादीबाट एमालेमा आएका रामबहादुर थापाबाहेक अरु सबै नेता पुनः माओवादीमै फर्किने मनस्थिति बनाइसकेका छन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साहले पार्टीमा तलैबाट समायोजन नगर्ने हो भने एकै ठाउँमा बस्न नसकिने स्पष्ट पारिसकेका छन् । साहको यो भनाइप्रति बादलबाहेक माओवादीबाट एमाले छिरेका सबै नेता सहमत छन् ।

विभाजिन मनस्थितिमा पुगेका एमाले नेताहरु तीन चिरामा विभक्त छन् । एमालेबाट माधव–खनाल समूह र माओवादी केन्द्रबाट एमाले छिरेकाहरु छुटिएर जाँदा पार्टी अध्यक्ष ओलीसँग कति बाँकी रहन्छन् त्यो हेर्न भने थप केही दिन पर्खनै पर्ने हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *