राजनीति

ठाकुर समूहको आधिकारिकता निर्वाचन आयोगले जाँच्ने

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ । विवाद निरुपणको पहिलो स्टेपमा अध्यक्ष महन्थ ठाकुर समूहलाई लिखित जवाफ माग गरेको छ ।

असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दाबीवारे ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो ।

यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न आयोगको बैठकले महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ । योसँगै निर्वाचन आयोग जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणमा प्रवेश गरेको हो ।

आयोगले उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले यसअघि एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई दुबै पक्षको दावी नपुग्ने भनी अस्वीकार गरेको थियो ।

यो विवाद दलको आधिकारिकतासम्बन्धी भएको भन्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निरुपणका लागि आउन आयोगले आग्रह गरेको थियो । त्यसपछि उपेन्द्र यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित दलको आधिकारिकता दावी गर्दै निवेदन दिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ (१) मा दलको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दावी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगमा आधार र प्रमाणसहित दावी पेश गर्नुपर्ने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *