काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको राप र तापले नेताहरुलाई विस्तारै तताउन थालेको छ । सभापति शेरबहादुर देउवाले आफू निकटका नेतासँग विमर्श गर्न थालेपछि अर्को समूह पनि तयारीमा जुट्न थालेपछि कांग्रेसमा महाधिवेशनको रौनक बढ्न थालेको हो ।
सभापति देउवाले पहिलो चरणमा प्रदेश केन्द्रीय सदस्यहरुसँग विमर्श थाले । प्रदेश केन्द्रीय सदस्यहरुलाई सभापति देउवाले पुनः एक पटक पार्टीलाई पहिलेकै अवस्थामा पु¥याएर मात्र विश्राम लिने बताएका छन् । भेट्न गर्ने प्रायः सबै केन्द्रीय सदस्यले देउवाको उम्मेदवारीलाई स्वभाविक ठानेका छन् ।
यता, देउवालाई सभापतिमा पुनः आउन नदिन खुला भेला र छलफल पनि सुरु भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमानसिंह बीच सोमबार छलफल भयो ।
यी तीनैजना सभापतिका दाबेदार हुन्, र उनीहरुको उम्मेदवारीलाई पनि अन्यथा भन्न मिल्ने अवस्था छैन । उनीहरु सबैसँग कांग्रेसको विरासत छ । त्यसैले उपसभापति निधिले सभापतिको दाबी गर्नु, महामन्त्री कोइरालाले सभापतिमा आकांक्षा राख्नु र पूर्वमहामन्त्री सिंह सभापति बन्न खोज्नुलाई कांग्रेसजनले अन्यथा लिएका छैनन् ।
सबै सभापतिका आकांक्षी हुन् । वर्तमान सभापति देउवाविरुद्ध साझा उम्मेदवार बनाउने उनीहरुबीच छलफल चलेको छ । तर को साझा उम्मेदवार बन्ने भन्ने विषय जटिल हो । म होइन भने त पनि होइन भन्ने उनीहरु बीचको द्वन्द्व नयाँ होइन । पार्टीभित्रको अन्तरसंघर्षमा यी तीनैजना एक जुट भएको विगत कांग्रेसमा छैन । तर कुन शक्तिले उनीहरुलाई एकै ठाउँमा राखेर छलफल छलफल चलायो, त्यो चाहिँ बुझिनसक्नु छ ।
एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्ने अवस्थामा यी तीनैजना छैनन् । त्यसैले आ–आफ्नो समूहको भेटघाटलाई उनीहरुले छिट्टै तीब्रता दिने छन् । बलियो समूह बनाएर सभापति बाहेकको पदमा बार्गेनिङ गर्ने छन् ।




