विचार

मन परेकी केटीले बिहे गर्न नमाने जातिय विभेद हुन्छ ?

मान्छेको जीवन, स्वतन्त्रता र सम्पत्ति (Life, Liberty and property) आधारभूत मानव अधिकार हुन्। जीवन मानव जातीको अस्तित्व (existence) सँग सम्बन्धित छ। मान्छेको जीवन नै अस्तित्वमा नरहे यो दुनियाँको कुनै चिजको पनि अर्थ हुँदैन। स्वतन्त्रता र सम्पत्ति मान्छेलाई मान्छेको अस्तित्वमा रहन उत्तिकै अनिवार्य र अपरिहार्य छन्। सम्पत्तिको आर्जन, भोग र हस्तान्तरण गर्न प्रत्येक ब्यक्ति स्वतन्त्र रहन्छन्। त्यसैले सम्पत्ति स्वतन्त्रताको अर्को रुप हो।

भनिन्छ मान्छेले बाबु मारेको बिर्सिन सक्छ तर आफ्नो सम्पत्ति माथि कसैले हस्तछेप गरेको कदापी सहन सक्दैन, स्वीकार्न सक्दैन। सम्पत्ति प्राप्ति गर्ने श्रम, सीप, ज्ञान, हस्तान्तरण लगायतकाविभिन्न विधी छन् जुन बैध हुन जरुरी हुन्छ। कोही कसैले बैध रुपमा प्राप्त गरेको निजी सम्पत्तिमा उसको निरपेक्ष हक सिर्जना हुन पुग्दछ। राज्यले समेत सार्वजनिक हितको लागी नै किन नहोस् ग्रहण गर्दा उचित मुआब्जा र क्षतिपुर्ती दिनुपर्ने हुन्छ। ब्यक्तिको त कुरै नगरौ। त्यसैले सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र कुनै पनि किसिमको स्वामित्व र भोगचलन हस्तान्तरण गर्ने सवालमा जोकोही ब्यक्ती निर्वाद रुपमा स्वतन्त्र हुन्छ।

कसैले कुनै पनि बहानामा सम्पत्तिको स्वामित्व बहन गर्ने स्वामी अर्थात् मालिकको आफनो निजी सम्पत्ति आँफुखुसी गर्न पाउने स्वतन्त्रतामा बन्देज लगाउन मिल्दैन। त्यस्तो बन्देज लगाउन सक्ने पनि हुँदैन। यहि कुरालाई नेपालको संविधानको धारा २५ ले सम्पत्तिको हकको रुपमा र धारा १७ ले स्वतन्त्तताको हकको रुपमा प्रत्येक नेपाली नागरीकलाई प्रत्याभुत गरेको अवस्था छ जसलाई कोहीकसैले कुनै पनि बहानामा अनदेखा गरी नजरअन्दाज गर्न मिल्दैन। स्वामीले वैधानिक रुपमा आर्जन गरेको निजी सम्पत्ति आफुखुशी गर्न पाउँछ। त्यो नै सम्पत्तिको पवित्रता (Sanctity of Property) हो। यो सम्पत्तिको हक हो जो अहरणीय हुन्छ।

कानुन बमोजिम वैध रुपमा आफ्नो स्वामित्वमा रहेको निजी सम्पत्ति स्वामीले आफुखुसी प्रयोग गर्न पाउँछ र सक्छ। अरु कसैले निजी सम्पत्तिको मालिकको इच्छाविपरित तैले यसै गर्नुपर्छ भनेर बाध्य बनाउन मिल्ने होइन, मिल्दैन। त्यसैले केवल घरबेटीले घर भाडामा दिएन भन्दैमा जातिय विभेद गरेको भनेर हाल प्रहरीले जाहेरी दर्ता गरेर घरवालालाई पक्राउ गर्नु सम्पत्तिको तथा स्वतन्त्रताको मौलिक हक र सम्पत्तिको पवित्रता विपरित भई सर्वस्वीकार्य विधिशास्त्रीय अर्थात् कानुनशास्त्रीय मान्यताको प्रतिकुल छ। आफ्नो निजि सम्पतिको आफुखुशी प्रयोग गर्ने कुरामा कोही कसैले कुनै पनि बहानामा बन्देज लगाउन मिल्दैन। ब्यक्तिको निजी सम्पत्ति उपभोग गर्न नदिँदैमा जातिय विभेद भयो भन्न मिल्दैन।

यदि यहि विधिशास्त्रीय मान्यतालाई टेकेर बैयत्तिक स्वतन्त्रताको चिरहरण गर्दै जाने हो भने अविवाहित हुँदैमा मन परेकी केटी माग्न जाँदा दिएनन् भने जातिय विभेद गरेको भन्न मिल्छ कि मिल्दैन ? प्रहरीले जाहेरी दर्ता गरेर मान्छे पक्राउ गरेर मुध्दा चलाउन सक्छ कि सक्दैन ?

मन परेको घर घरबेटीले किन्न नदिएमा जातिय विभेद भयो भनेर मुध्दा चल्छ कि चल्दैन। अझ मन परेकी केटीले बिहे गर्न नमानेमा पनि जातिय विभेद हुन्छ। केटाको हकमा पनि त्यो अपवाद हुँदैन। प्रहरीले जाहेरी लिन, समातेर थुन्न र मुध्दा चलाउन सक्छ कि सक्दैन ?

यि गम्भीर विधिशास्त्रीय प्रश्नहरुको उत्तर दिन सक्ने औकात आफ्नो निजी सम्पत्ति कसैलाई उपभोग गर्न नदिदैमा जाहेरी लिएर पक्रिन अनुमति दिने न्यायधीश, पक्रिने पुलिसले र मुध्दा चलाउने सरकारी वकिलले दिन सक्छन् कि सक्दैनन्? कि केवल फलाना कानुनको फलाना फलाना दफा भनेर उल्लेख गर्दैमा मान्छेको वैयत्तिक स्वतन्त्रता नै हरण गर्नसम्म सक्ने आधार र कारण स्थापित हुने हुन्?

यि नै सवालमा ति न्यायधीश, पुलिस र सरकारी वकिलले केवल घरबेटीको हैसियतमा घर भाडामा दिएनन् भनेर कसैले जाहेरी लिएर गयो भने आफु थुनामा गएर बस्न सक्छन् कि सक्दैनन्? आफ्नो निजी सम्पत्ति कसैलाई उपभोग गर्न नदिदैमा जाहेरी लिएर नागरिकलाई पक्रिने पुलिसले ज्यानमारा, बलत्कारी र अपराधीलाई कहिले पक्रिने हो ? बिभिन्न बहानामा जाहेरी समेत नलिएका घटना धेरै छन्। यि यक्ष प्रश्नहरुको उत्तर कस्ले दिन्छ ?

र अन्त्यमा, म दाविका साथ भन्छु कसैले उसको पुरा स्वामित्व भएको वैध निजि सम्पत्ति अरु कसैलाई उपभोग गर्न दिएन भन्दैमा जातिय भेदभाव गरेको भन्न कदापि मिल्दैन। यदि म नै कसैको घरमा गए भने पनि घरधनिको अनुमतिबिना घरमा बस्न त हैन पस्न पनि मिल्दैन। अर्काको निजि सम्पत्ति मैले केवल उपभोग गर्न नपाउदा जातिय विभेद भयो भन्न मिल्ने होईन, पाँइदैन। त्यसैले निजी सम्पत्ति उपभोग गर्न नदिदैमा जातिय विभेद गरेको भन्नु अराजकताको पराकाष्ठा हो। 

(लेखक त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी शिक्षा र राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेका र हाल तेस्रो डिग्रीको रुपमा त्रि. वि. कै कानुन केन्द्रीय विभागमा एल.एल.एम. चौथो सेमेस्टरमा अध्ययनरत भई गहिरो प्रागिक विश्लेषण गर्न सक्ने विद्वान् अधिवक्ता हुन्।)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *