रिबन

टिम समेट्न देउवालाई दबाब

आजका पत्रपत्रिकामा उपत्यकामा निषेधाज्ञा थप गरिएकोबारे मुख्य खबर छ । भने कांग्रेसको महाधिवेशन तयारीको चर्चा र सिन्धुपाल्चोकमा गएको बाढीको मुख्य कारणबारे पनि पत्रिकामा खबर छ ।
भ्रेमाथाङ पहिरोले मेलम्चीमा बाढी नागरिक दैनिकले यो शिर्षकमा लेखेको छ । मेलम्ची खोला सधैं शान्त रहन्थ्यो। बरु सँगैको इन्द्रावती नदी बर्खामा कहिलेकाहीं उर्लिएर मात्तिन्थ्यो। स्थानीयलाई कहिल्यै दुःख नदिईकन शान्तसँग बग्ने छवि बनाएको मेलम्ची खोला यो वर्षको मनसुन प्रारम्भ हुनासाथ बहुलायो। हेलम्बु–मेलम्ची उपत्यका तहसनहस बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन्। विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी छिरेर स्वात्तै बग्यो,’ १० वर्षदेखि मेलम्ची जलाधार क्षेत्रको अध्ययन गरिरहेका वातावरणविज्ञ डा। रविनराज निरौलाले भने।
त्यस्तै टिम समेट्न देउवालाई दबाब नागरिक शिर्षकमा अर्को खबर छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।

विपत् व्यवस्थापनकै बिजोग शिर्षकमा अन्नपूर्ण पोस्ट्ले व्यानर समाचार बनाएको छ । कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन।

सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने कहिल्यै फेरिएन। विपत्ति पीडितलाई सामान्य राहत बाँड्नु नै यसको परिभाषाजस्तो बनेको छ।

विपत् व्यवस्थापनसम्बन्धी सरकारका केन्द्रमै आधा दर्जनभन्दा बढी संयन्त्र छन्। तिनीहरूबीच न समन्वय छ, न त सक्रियता। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका विपत् समन्वय हेर्ने सचिव खगराज बराल स्वयं यसमा दुःखी छन्। ‘समन्वयकै अभाव देखियो। हामीलाई त सूचना उपलब्ध गराउँदैनन्,’ उनले भने, ‘अरूका हकमा कस्तो होला ?’

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, जान्नुहोस् कुन बार कुन पसल खुल्छन् ? शिर्षकमा नेपाल समाचार पत्रमा खबर छ । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको उपत्यकाका तीन ओटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थपेर खुकुलो बनाउने निर्णय गरेको हो । जसमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । भने बार अनुसार पसलहरु खोल्न दिने निर्णय समेत भएको छ ।

अब आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने भएको छ । यस्तै सोमबार, बुधबार र शुक्रबार बहान ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने छन् ।

खाने तेलको मूल्य घट्यो, पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल ९सनफ्लो० प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *