आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । १६ वैशाखबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको समाचारलाइ राजधानी दैनिकले प्राथमिकता दिएकाे छ । तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताए । ‘निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने भन्ने छ, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ, सवारी साधनका विषयमा पनि छलफल चलिरहेकै छ, तर मोडालिटीको टुंगो लागिसकेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले राजधानीसँग भने ।
सहरी विकासमा ३ वर्षमा ७ मन्त्री नागरिक दैनिकले समाचार लेखेको छ । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्। सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए। बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिएपछि वसन्त नेम्वाङ उक्त मन्त्रालयको जिम्मेवारीमा आए। नेम्वाङपछि कृष्णगोपाल श्रेष्ठ सहरी विकासमन्त्री भए। त्यसपछि २०७७ असोजमा प्रभु साहले उक्त मन्त्रालयको जिम्मा लिए। हाल राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हालिरहेका छन्। ओलीलाई समेत जोड्दा तीन वर्ष चार महिनाको अन्तरालमा सहरी विकासमा सातपटक मन्त्री फेरिएका छन्।
पाँच दिन भोकैतिर्खै ओडारमा… शिर्षकमा अन्नपूर्ण पोस्ट्ले जाजरकोटमा हराएका सात जनाको समाचारलाई प्राथमिकताको साथ पहिलो पेजमा छापेको छ ।
जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन्। प्रहरी र स्थानिय बासिन्दाले बेपत्ताको सकुशल उद्धार गरेका हुन्। घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका(८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सातजना गत जेठ ३१ गतेदेखि सम्पर्कबिहीन भएका थिए। जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो। उद्धार गरिएकाले पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर अवस्थामा भेटिएका हुन्। उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट घर फर्काइएको थियो।
फेरि सभापतिमा उठ्ने देउवाको घोषणा शिर्षकमा नेपाल समाचारपत्रमा खबर छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीले आगामी भदौमा १४औं महाधिवशेन गर्ने संशोधन कार्यपालिका पारित गरेसँगै उहाँले सभापतिमा दोहोरिने चाहना रहेको बताउनु भएको हो । सभापतिमा उम्मेदवारी दिने तयारी सहित देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल अगाडि बढाउनु भएको छ । शनिबार उहाँले प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँग परामर्श गर्नु भएको छ । परामर्शका क्रममा उहाँले १४औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने जानकारी गराउनुभएको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।




