काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा आफू पुनः सभापति पदमा प्रतिस्पर्धा गर्ने सङ्केत गरेका छन् । शनिवार केही केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले यस्तो संकेत गरेका हुन् ।
देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘म सभापतिमा फेरि लड्छु । छलफलमा सभापति देउवाको पालामा भएका कामको विश्लेषण भएको थियो । सभापति देउवाको नेतृत्वमा संविधान कार्यान्वयन, तीन तहको निर्वाचन र प्रतिनिधिसभामा लोकप्रिय प्राप्त गरेको विषयमा चर्चा भएको थियो । सभापति देउवाले भने, ‘बढी पाए पनि सिट कम जित्यौं अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर काँग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’
सभापति देउवाले पार्टीलाई सबैभन्दा ठूलो बनाउने बताए । छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला सङ्ग्रौला र सुजाता परियारलगायत सहभागी थिए ।




