राजनीति

विश्वासको मत लिएपछि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्ने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । उनले असार ४ गते शुक्रबार विश्वासको मत लिने घोषणा गरिसकेका छन् ।

शुक्रबार बस्ने प्रदेशको आठौं अधिवेशनको १४औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने र त्यस पछिमात्रै प्रदेशको थप मन्त्रिपरिषद् विस्तार गरी कामको बाँडफाँट गर्ने तयारी भइरहेको मुख्यमन्त्री कार्यालयको जानकारी छ ।

हाल गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलसहित कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ बिना बिभागीयमन्त्री छन् ।

गत जेष्ठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै रहेकाले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने भए पनि अन्य मन्त्रालयबाट हुने दैनिक कार्यलाई छिटोछरितो बनाउन शुक्रबार नै विश्वासको मत लिएर अघि बढ्न प्रदेश सभा सचिवालयमा सूचना दर्ता गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *