देश

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकमा महन्थ ठाकुर पक्षलाई ‘बाइकट’

काठमाडौं । जसपाको केन्द्रीय कार्यकारिणी समिति आज बस्दैछ । अध्यक्ष उपेन्द्र यादवले समितिको बैठक बिहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बोलाएका छन् ।

बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई निमन्त्रणा गरिएको छैन । ठाकुरले एकलौटी ढंगले बैठक नै नबसी १७ जना केन्द्रीय कार्यकारिणी सदस्य मनोनयन गरेका छन् । जसमा उपेन्द्र यादव पक्षका कोही पनि पारेका छैनन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्याउन ठाकुर पक्षले समिति सदस्य मनोनयन गरे पनि त्यसलाई निर्वाचन आयोगले अवैध ठहर गरिसकेको छ ।

आजको बैठकबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णय लिइने अध्यक्ष यादवले जनाएका छन् ।
जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि यादव पक्षीय बैठक बस्न लागेको हो ।

ठाकुरसहित नेता महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरीलाई बैठकमा बोलाएको छैन । ठाकुरले बुधबार विज्ञप्ति जारी गरी आज बोलाइएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा नजान निर्देशन गरेका छन् । तर ठाकुर पक्ष आफैं अल्पमतमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *