काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सुझाव पत्र पठाएका छन् । पार्टीबाट पहिलोपटक प्रदेशको मुख्यमन्त्री बनेका पोखरेलले गरेका निर्णय विवादमा आएपछि शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत सुझाव दिएका हुन् ।
प्रवक्ता शर्माले राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्ने र आलोचित हुन एक गल्ती वा भ्रम नै काफी हुने भएकाले फुकेर चल्न, सोचेर बोल्न आग्रह गरेका छन् ।
‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू, राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ । आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ । फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सही निर्णय गर्नोस्, समय संवदेनशील छ । बधाई र शुभकामनासहित संक्षिप्त सुझाव पत्र,’ शर्माले लेखेका छन् ।
गण्डकी प्रदेशको मुख्यमन्त्री बन्नेवित्तिकै पोखरेल क्याबिनेटले पूर्वमुख्यमन्त्रीलाई सेवासुविधा उपलब्ध गराउन कानुन बनाउने निर्णय गरेको भन्दै समाचार आएको थियो । जसकारण उनी सुरुकै दिनदेखि विवादमा परेका छन् । तर, गण्डकी प्रदेश सरकारले त्यो समाचारको खण्डन गर्दै कुनै सेवासुविधा थप नगरेको प्रस्ट पारेको छ ।





