राजनीति

कांग्रेस क्रियाशील सदस्य आठ लाख पुग्यो, सदस्यता शुल्क र लेबीसहित सबै कागजात बुझाउन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यको संख्या आठ लाख नाघेको छ । १० लाख सदस्य बनाउने लक्ष्य लिएर अघि बढेको कांग्रेसले पाँच लाखभन्दा बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिसकेको छ ।

यसपटक थपिएका चार लाख १९ हजार नौ सय ३९ र नवीकरण गरेका तीन लाख ८० हजार तीन सय ७८ गरी कुल आठ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा प्राप्त छ ।

कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको हो ।

यसअघि ६० भन्दा बढी जिल्लाबाट प्राप्त एक सय एक स्थानको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा राखिसकेको छ । कांग्रेसले १४औँ महाधिवेशनमा क्रियाशील सदस्यको संख्या दोब्बरले वृद्धि गरी दश लाख पु¥याउने लक्ष्यसहित नवीकरण र वितरणको काम थालेको थियो ।

जसअनुसार जिल्ला कार्यसमितिले पुराना क्रियाशीलको नवीकरण र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूले नयाँ सदस्यता वितरण गरी केन्द्रीय कार्यालयको सफ्टवेयरमा देशभरका दुई सय सात स्थानबाट नवीकरण र नयाँ सदस्यताको विवरण अपडेट हुने व्यवस्था गरिएको थियो । तीमध्ये अहिलेसम्म एक सय ६६ स्थानको नामावली प्रक्रिया पु¥याएर निर्विवाद रूपमा प्राप्त भएको र छानबिन समितिले ती नामावली सार्वजनिक गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

शनिबारै बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको मिति हेरफेर गर्दै २० असारभित्र क्रियाशीलको छानबिनसमेत पूरा गरी केन्द्रीय समितिमा बुझाउन भनेपछि छानबिन समिति दबाबमा परेको छ । समितिले सार्वजनिक गरिएका नामावलीउपर एक साताभित्र उजुरी वा गुनासो भए केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ । यस्तै, सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन ६ असारसम्मको समय तोकेको छ ।

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता शुल्क र सहयोग रकम अर्थात् लेबीसहित क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण कागजातहरू एक साताभित्र केन्द्रीय कार्यालयमा बुझाइसक्न निर्देशन दिएको छ ।

समितिले क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने प्रक्रियामा वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिले गरेका निर्णयको प्रतिलिपि, क्रियाशील सदस्यताको प्रस्तावित नामावली प्रमाणित सूची, सदस्यता शुल्क र सहयोग रकम (लेबी)समेत जम्मा गरेको भौचर/आवश्यक कागजात विवरण केन्द्रमा बुझाउन निर्देशन गरेको हो । समितिले कोरोनाका कारण अहिले भौतिक रूपमा ल्याउन समस्या भए इमेलमार्फत भए पनि बुझाउन आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *