कला/साहित्य

अति भयो ओली ‘बा’ !, अब सहन सकिन्न्

‘बा’ अति प्यारो जिम्मेवार अनि सन्तानका निमित्त मरिमेट्ने नाता हो । जसको ध्येय नै सन्तानको सुख हो । तर सबै ‘बा’ राम्रा नहुने रहेछन । कति ‘बा’ ले स्वार्थ पूरा भएपछि सन्तान बिर्सिदा रहेछन । बिचरा ती सन्तान जो चर्को घाम अनि मुसलधारे पानीमा पनि ‘बा’ को समिप्यता खोजिरहेका हुन्छन् । अनि ‘बा’ को व्यवहार हेर्छन् र निराश हुन्छन् । त्यस्तै एउटा ‘बा’ जसमा सन्तानको पूर्ण विश्वास र भरोसा थियो तर पूरा भएन ।

केपी शर्मा ओली वा अहिले पार्टीभित्र ‘बा’ शब्दले सम्वोधित हुन चाहने पात्र नाकाबन्दीमा राष्ट्रवादको पोको बोकेर आउनु भएपछि सबैले रुचाएका थिए । आज ती पोकाको स्वाद चाख्नै नपाउँदा उतिनै निराश छन ‘बा’ का सन्तति । केटाकेटीलाई भुल्याउन रेल चढाउने कथा सुनाउनु भयो । गाउँमा डोकोमा सिलिन्डर बोकेर भात पकाउने छोराछोरीले समेत चुल्होमै ग्याँसको पाइप ‘बा’ ले जोडिदिनु हुन्छ भनेर खुसी मनाउन थाले । अझ हावाबाट बिजुली निकालेर उज्यालो बनाउँछु भन्नुहुन्थ्यो, हामी पत्याथ्यौं । आफ्नै पानीजहाजमा ल्याएको नुन खान पाइने भनेर उत्तिनै खुसी थियौँ । अब त ‘बा’ ले नेपालमै काम दिनुहुन्छ विदेश जान पर्दैन भनेर परिवारलाई सुनाउथ्यौं । ‘बा’ कै छत्रछायाँमा बसेर काम गर्न पाइने भयो भनेर खुसी थियौं । ‘बा’ हामीलाई याद छ तपाईंले बाँढेका ती तमाम सपनाका पोकाहरु तपाईंले खोलेर हेर्न भ्याउनु भएन ।

बरु टुहुरै भए नि रमाउन सक्छौं हामी ! अब हामीलाई अनि हाम्री आमालाई मुक्ति देउ । होइन भने अब हामी प्रह्लाद बन्न तयार छौं । विचार गरी बक्सियोस् ‘बा’ !

खै ‘बा’ बूढो हुनुभयो, बिर्सनु भयो भनौ भने आफू टिक्न नागरिकताको झटारो हानेर मधेसी साथीको बुइँ चढेर जोगिन सक्ने बाको होस त हाम्रो भन्दा तगडै छ नि ! ‘बा’ हजुरले किन गर्नु भएन भनेर हामी चिच्याउन थाल्यौ । बाले आफूलाई जोगाउन घरबाट हामिलाई निकालेर तिनै मधेशी साथीका छिमेकीका छोराछोरीलाई समेत घरमा ल्याउने नीति बनाउनु भयो । रोग र भोकबाट हामीलाई जोगाउन औषधि र खानेकुरा नदिने ‘बा’ ले आफू जोगिन छिमेकीलाई चुरेको सम्पत्ति समेत दिनुभयो । ‘बा’ ले सत्ता टिकाउन ल्याउनु भएको अध्यादेशमा सर्वोच्च अदालतले कार्यान्यन नगर्नु भनेपछि ‘बा’ मात्र होइन सत्ता सारथीसमेत रन्थनिएका छन् ।

यता सन्तान छ्ट्पटिरहदा उता ‘बा’ ले भने कुर्सी छाडेर हाम्रो समस्या बुझ्न सक्नुभएन । पक्कै बिर्सनु भयो ती सन्तानले ‘बा’ लाई त्यो कुर्सीमा राख्न ज्यानसमेत दिएका थिए । ‘बा’ ले बिर्सनुभयो त्यो सन्तान जसले एक छाक खाएर पनि छिमेकीले बार लागाएर चुल्हो बल्न नदिँदा उहाँको शिर उचो राख्न भोको संघर्ष गरेका थिए । ‘बा’ ले बिर्सनु भयो ती सन्तान जसले रापिलो घाम र बर्खाको पानी नभनी ‘बा’ को पछाडी लागेर ‘बा’ लाई ठूलो मान्छे बनाउन खटिएका थिए ।

‘बा’ ले अब त सम्झनु होला भनेको थिएँ । अहँ सम्झनु भएन । ‘बा’ त झन बेहोसी हुन थाल्नु भयो । घर भत्काउनु भयो । बारी खनेर छिमेकीलाई दिन तत्पर हुनु भयो । हिजो बार लगाउने छिमेकिसँग गर्धन जोडेर कुर्सीमा मुस्कुराउन थाल्नु भयो । घरको नियम सबै तोडमोड गर्नु भयो । हामीलाई अध्यारोमा थुन्न खोज्नु भयो । बिदेशी बोलाएर घरको सम्पत्ति हत्याउन लगाउनु भयो । रोगले सन्तान मर्दा चुट्किला सुनाएर बस्नु भयो । महिनैपिच्छे घरमा नयाँ नयाँ काका भित्र्याउनु भयो ।

जे जे भन्नू भयो गरियो । हाम्रै ‘बा’ ठीक भनियो । चुपचाप ‘बा’ लाई आई लभ यु बा भनियो । अब अत्ति भयो बा तपाईले हामीलाई दिनु भएको दुख त सहियो, तर हाम्री आमाको छातिमा लात्ती बजार्न थाल्यौ त्यो त कसरी हेरौं ? आमाको लुगा जलाउनेलाई घरमा ल्यायौं, कसरी सहनु ? आमालाई अपमान गर्ने पारिका दानवलाई कसरी दाजुभाइ मान्नु ? हाम्रा सम्पत्तिमा आँखा लाउने काकालाई कुन मनले समर्थन गरुँ ? खाडीबाट अझ कति दाजुभाइको लास लिएर आउँछ ? बस अब सहन सकिन्न ‘बा’ अब तिमीले छोडेर जाँदा हामी खुसी हुन्छौ । चाहिएन तिमीजस्ता मतलबी अनि कठोर तानाशाही बा । बरु टुहुरै भए नि रमाउन सक्छौं हामी ! अब हामीलाई अनि हाम्री आमालाई मुक्ति देउ । होइन भने अब हामी प्रह्लाद बन्न तयार छौं । विचार गरी बक्सियोस् ‘बा’ !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *