पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन । संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान प्रदेश प्रमुखबाट भएको हो ।
गण्डकीका मुख्यमत्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको हो । वैकल्पिक सरकार गठनका लागि उनले दलहरुलाई २४ घण्टाको समय दिएकी छन् । प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बास्तोलाका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा छ ।
सरकार बनाउनको लागि ३१ सासद चाहिन्छन । उक्त बहुमत विपक्षीले आफूसँग रहेको दाबी गरेका छन् । विपक्षी कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार रहेका कृष्णचन्द्र नेपालीले बहुमतसहित आफूहरुको सरकार बन्ने दाबी गरे ।
थापा पुनः पदमुक्त
शुक्रबारको प्रदेशसभा बैठकले जनमोर्चाका सांसद कृष्ण थापालाई फेरि पदमुक्त भएको सूचना दिएको छ । थापाले बिहिबारको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने पार्टीको ह्विप नमानी तटस्थ बसेका थिए । ह्विप उल्लंघन गरेपछि उनको दल जनमोर्चाले पदमुक्त गरिदिन अनुरोध गरेबमोजिम सभामुख नेत्रनाथ अधिकारीले थापाको पद रिक्त रहेको जानकारी सदनलाई गराएका हुन् ।
६० सदस्यिय गण्डकी प्रदेशसभामा थापाको पद गएपछि सांसद संख्या ५९ कायम भएको छ । ५९ सांसद कायम भएपछि बहुमतको लागि सरकार बनाउन ३० सांसद भए पुग्छ । विपक्षीसँग ३१ सांसदको हस्ताक्षर रहेको छ । यो प्रक्रिया अनुसार सरकार बने फेरि ३० दिनभित्र मुख्यमन्त्रीले उपधारा ६ बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसके वा सरकार बन्न नसके उपधारा ७ बमोजिम प्रदेश मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनेछ ।





