काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनांगेले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसद् विघटन गर्ने रणनीति बनाएपछि आफू प्रदेश सभामा उपस्थित नभएको स्पष्ट पारेका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने बेला एकाएक हराएका प्रदेशका खेलकुद मन्त्रीसमेत रहेका मनांगेलाई खोज्न सुरक्षाकर्मी नै परिचालन गरिएको थियो । तर, मनागे भने बेलुका एक रिसोर्टमा फेला परेका थिए । उनले रिसोर्टबाटै मन्त्री पदबाट राजीनामा दिएको विज्ञप्ति जारी गरेका थिए । तर, बिहीबार मध्यराति मुख्यमन्त्री गुरुङले मनांगेलाई मन्त्री पदबाट बर्खास्त गरेको सूचना निकालेका थिए ।
गुरुङ विश्वासको मत लिन नसकी पदमुक्त भएपछि आफूले नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको मनांगेको भनाइ छ । उनले आफू विश्वासको मत दिने बेला उपस्थित नभएर सही काम गरेको उनले बताएका छन् ।
आफूले मुख्यमन्त्रीलाई दुईपटक सरकारमा गएर सहयोग गरेको बताउँदै तपाईहरुको संख्या ३० पुग्छ भने म हालिदिन्छु नत्र हाल्दिन भनी भनेको पत्रकारहरुलाई बताएका छन् । संसद् विघटन गर्न खोज्ने मुख्यमन्त्री गुरुङ कोरोनाभन्दा नराम्रो बिरामी भएको भन्दै उनले आफूलाई सुरक्षाकर्मीलाई खोज्न पठाएकोमा आपत्ति प्रकट गरे ।




