काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई छलफलका लागि जेठ २८ गते शुक्रबार बोलाएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजना गरिएको छलफलमा पूर्व प्रधानमन्त्री तथा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरु सहभागी हुने कुरामा कुनै दुविधा रहेन । तर सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सहभागिता भने निश्चित छैन ।
संसद सचिवालयले प्रधानमन्त्रीका लागि पठाएको निमन्त्रणा पार्टी कार्यालय थापाथलीमा दर्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बालुवाटारमा पुग्नुपर्ने पत्र थापाथलीमै एक सातासम्म थन्किने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् ।
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको सम्बन्ध संवैधानिक परिषद्को बैठकदेखि नै अमिलो बनेको थियो । त्यसपछि विकसित राजनीतिक घटनाक्रमले भने प्रधानमन्त्री ओली र सभामुख सापकोटाको सम्बन्ध अझ टाढा बनाएको छ । यो अवस्थामा सभामुखको निमन्त्रणा स्वीकार गरेर प्रधानमन्त्री ओली छलफलमा जानु होला भन्ने कुरामा धेरैले आशंका गरेका छन् ।





