राजनीति

योगेश भट्टराईले खोले एमालेको एकता नहुनुको मूल कारण

काठमाडौं । एमाले नेता योगेश भट्टराई पार्टीका शीर्ष नेतासँग आक्रोशित भएका छन् । शीर्ष नेतृत्वकै रवैयाका कारण पार्टी एकता नहुने उनले ठहर गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत भट्टराई पार्टी एकता नहुनुमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आ–आफ्नो हठ रहेको निष्कर्षमा पुगेका छन् । उनले ओली किन माधव नेपाल र झलनाथ खनालसँग संवाद गर्न चाहँदैनन् ? माधव नेपाल र झलनाथ खनाल किन ओलीसँग संवाद र सहकार्य गर्न चाहँदैनन् भन्ने प्रश्नसमेत गरेका छन् ।

भट्टराईले ओली जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोसँग सहकार्य गर्न तयार हुने तर नेपाल र खनालसँग संवाद गर्न नसक्ने अनि खनाल र नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डसँग सहकार्य गर्न तयार हुने, तर ओलीसँग संवाद नै गर्न नचाहने प्रवृत्ति नै एमाले एकताको मूल जड भएको बताएका छन् । यो कसले र किन गरिरहेको छ भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

भट्टराईले लेखेका छन्–
कमरेड केपी ओली आफ्नै पार्टीका बरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने, तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने, तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मूल जड यहीँ छ । यस बिषयमा कमरेडहरु बीचमा गम्भिर छलफल हुनु र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *