रिबन

केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । राजनितिदेखि समसामायिक विषयलाई प्राथमिकताको साथ छापिएको छ । नागरिक दैनिकले केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी शिर्षकमा मुख्य खबर छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेका विपक्षी गठबन्धनले केन्द्रमा मात्र नभएर प्रदेशका सरकारमा पनि सहकार्य सुरु गरेका छन्।
त्यस्तै राजधानी दैनिक एक दर्जन बढी पूर्व सांसद मन्त्री बन्ने दौडमा लागेपछि ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस भएको खबरलाई स्थान दिएको छ । पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेका नेतालाई पनि उचित स्थान दिनुपर्ने हुँदा प्रधानमन्त्री सकसमा परेका हुन् ।
त्यस्तै काँग्रेसमा सात युवा नेताको प्रस्तावः वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान गर्ने खबरलाई पनि राजधानीले छापेको छ । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

उता अन्नपूर्ण पोस्ट्ले खोजमुलक समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ । दलित बस्ती नै साहूको नाममा शिर्षकमा गोरखाको एक गाउँको समस्यालाई उजागर गरेको छ । गोरखा नगरपालिका–६ ढाँडगाउँका मनबहादुर गुरुङ गत फागुन २४ गते बसाईसराइको प्रमाणपत्र बनाउन पुरानो थलो मुच्चोक जानुपर्ने भयो। तर, बाटो खर्च नभएपछि गुरुङले स्थानीय चिनीमाया कुँवरलाई ३ हजार रुपैयाँ सापट मागे। त्यसबापत उनले श्रीमती कृष्णदेवी विकको नाममा रहेको लालपुर्जा बन्धक राख्नुपर्‍यो।

सोही ठाउँका कुलबहादुर विकलाई भूकम्पमा भत्किएको घर बनाउँदा–बनाउँदै शौचालय बनाउन पैसा पुगेन। लालपुर्जा राखेर ३६ प्रतिशत ब्याजमा ऋण लगानी गर्दै आएका बुङ्कोट घर भई हरमटारी बस्ने पूर्णकुमार श्रेष्ठसँग ५० हजार रुपैयाँ सापट लिए। त्यसबापत कुलबहादुरले श्रेष्ठलाई एक कित्ता जग्गा मालपोतमा गई राजीनामा पास गरेर दिएका छन्।

‘सावाँ ब्याज तिरिसकेपछि लालपुर्जा फिर्ता दिन्छु भनेको छ’, कुलबहादुर भन्छन्, ‘अब ९ हजार मात्र तिर्न बाँकी छ। अस्ति बल्लतल्ल ७ हजार रुपैयाँ पुर्‍याएर तिर्न गएको, अपूरो लिन मानेन। सप्पै एकैचोटी तिरे मात्र लिन्छु भन्यो।’ ५० हजार रुपैयाँको सावाँ ब्याज गरेर तीन वर्षमा डेढ लाख तिरेको उनी सुनाउँछन्।

एमालेमा एकताको सघन पहल शिर्षकमा मुख्य खबर छापेको छ । एमालेको शीर्ष नेतृत्व तहमा कटुता बढे पनि पार्टी एकताको पहल जारी छ। अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरे पनि दोस्रो तहका नेता घनीभूत संवादमा जुटेका हुन्।

राजधानीको समिट होटलमा मंगलबार पार्टीको एकता कसरी जोगाउने भनेर दुवै पक्षका नेताहरू छलफलमा बसेका थिए। उक्त वार्तामा ओली पक्षबाट सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई सहभागी थिए। यो बैठकमा नेपाल पक्षबाट भीम आचार्य थपिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *