काठमाडौं । नेकपा एमालेलाई एक जुट बनाउन माधव नेपाल समूहबाट वार्तामा खटिएका दोस्रो तहका नेता भीम रावल र रघु पन्तलाई बाहिर राखेर फेरि छलफल अघि बढाइएकाे छ । माधव समूहबाट सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई साथमा लिएर संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली एमालेलाई फुटबाट जोगाउन छलफलमा जुटेका हुन् ।
छलफलमा ओली पक्षका शंकर पोखरेल पनि छैनन् । उनी चाहिँ लुम्बिनी प्रदेश बजेट अधिवेशन सुरु भएकाले वार्तामा सहभागी नभएका हुन् । तर माधव पक्षका रावल र पन्तलाई पनि वार्तामा सहभागी गराएको छैन । त्यसो त संस्थापन पक्षका विष्णु रिजाल र माधव पक्षका घनश्याम भुसाल पनि छलफलमा सहभागी भएनन् ।
याक एण्ड यतिमा केही चरण छलफल गरेका नेताहरुबीच आज पुनः ललितपुरको समिट होटलमा छलफल गरेका थिए । छलफलले सहमति जुटाउने प्रयास गरेको बताइन्छ ।
सत्तारुढ दल नेकपा एमाले यतिबेला फुटको डिलमा उभिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगीहरु माधव समूहलाई पाखा लगाउने अभिव्यक्ति सामाजिक सञ्जालमा दिएर छलफललाई प्रभावित पारिरहेका छन् । प्रधानमन्त्रीका सञ्चार सहयोगी सूर्य थापा र पूर्व सञ्चारमन्त्री गोकूल बास्केटा यो मामिलामा अगाडि देखिएका छन् ।




