राजनीति

महन्थ ठाकुरलाई पदाधिकारीको निर्णय र हस्ताक्षर निर्वाचन आयोगमा बुझाउन हम्मे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगमा पदाधिकारी र केन्द्रीय सदस्यको हस्ताक्षर बुझाउन हम्मे परेको छ । तत्काल सम्भव नभएपछि अध्यक्ष ठाकुरले निर्वाचन आयोगसँग थप एक साताको समय मागेका छन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य कायम छन् जसमध्ये एकजना रेशम चौधरी जेलमा छन्। नेपालको राजनीतिक दलसम्बन्धी ऐनबमोजिम कुनै पनि दल विभाजन गर्न उक्त दलको कम्तीमा ४० प्रतिशत केन्द्रीय समितिको सदस्य तथा ४० प्रतिशत सङ्घीय संसद्‌ सदस्य आवश्यक पर्छ । हाल प्रतिनिधिसभा विघटित भएको अवस्था छ।

अध्यक्ष ठाकुर यतिबेला संकटमा छन् । सरकारमा सहभागी हुन नपाएको झोकमा राजकिशोर यादव सम्पर्कमा छैनन भने महेन्द्र राय यादवले ठाकुर क्याम्प छोडेर उपेन्द्र समूहमा लागिसकेका छन् । उनीहरु दुवै पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्येका हुन् । ठाकुर पक्षले सरकारमा जाने तयारी गरिरहेकै बेला सोही पक्षका तीन कार्यकारी सदस्य मृगेन्द्र सिंह, रामनरेश राय यादव र नवलकिशोर साह कित्ता परिवर्तन गरी यादव पक्षमा उभिएका थिए।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले गत जेठ १८ गते अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई पत्र पठाएका थिए । अध्यक्ष यादवले पठाएको पत्रमा पदाधिकारीको निर्णय नभए पनि केन्द्रीय सदस्यको हस्ताक्षर थियो ।

त्यसै दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए । गत जेठ १९ गते निर्वाचन आयोगले दुबै अध्यक्षलाई पत्र लेखेर सात दिनभित्र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा पेश गर्न आग्रह गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *