काठमाडौं । नेपालीमा एउटा उखान छ जाँतोलाई भन्दा हातोलाई खसखस । यही उखान चरितार्थ गरेका छन् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ।
थापाको जागिर भनेको जम्माजम्मी प्रधानमन्त्रीको प्रेस हेर्ने मात्र हो । प्रधानमन्त्रीका कार्यक्रम कहाँ के हुँदैछन् ? मिडियालाई औपचारिक जानकारी दिने हो । प्रधानमन्त्रीविरुद्ध आएका समाचारको प्रतिवाद गर्ने हो । स्पष्टीकरण दिने हो ।
तर, थापा अहिले एमालेकै शीर्ष नेताको मानमर्दनमा लागेका छन् । उनी एमालेको केन्द्रीय सदस्य भए पनि त्यो हैसियतअनुसार पनि उनले शीर्ष नेतृत्वलाई अमाचकारी गालीगलौज गर्ने होइन । जनताको करको पैसा खाएर आफ्नै पार्टीका नेता र विपक्षी दलका नेताविरुद्ध सूर्य थापालाई विष वमन गर्न बालुवाटार पठाइएको पनि होइन । तर, उनले एमाले नै आफूले चलाएको जस्तो गरी प्रस्तुति दिन थालेका छन् ।
यसैक्रममा एमालेमा एकता कायम राख्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच विज्ञप्ति जारी गर्ने, अपिल जारी गर्ने काम भइरहेको छ । तर, यहीबीचमा सूर्य थापाले एमालेमा देखिएको एकता भाँड्ने गरी प्रचारवाजी गरेका छन् ।
एमाले शीर्ष नेतृत्वको कुनै आधिकारिक धारणा नआई नै उनले माधवकुमार नेपालका सर्त स्वीकार गरेर एकता नहुने घोषणा गरेका छन् । ओलीले एकताका लागि गरेको ६ बुँदे आह्वानको सोमबार राति नेपाल पक्षले ६ बुँदे खण्डन गर्दै अस्वीकार गरेको थियो । त्यो खण्डनको एमाले नेतृत्वले जवाफ दिन बाँकी नै छ । तर, थापाले मंगलबार बिहान ट्विटमार्फत माधव पक्षले गरेका सर्तमा बरु कांग्रेससँग एकता होला, माधव पक्षसँग एकता नहुने दाबी गरेका छन् ।
‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधवकुमार नेपालका सर्त स्वीकारेर त एकता हुँदैन। यी सर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन, तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो । अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौ,’ उनले लेखेका छन् ।




