आजका पत्रपत्रिकामा राजनितिक विषयबस्तुले मुख्य स्थान पाएका छन् भने अन्य समसामायिक विषयबस्तुले पनि स्थान पाएका छन् ।
नागरिक दैनिकले स्वास्थ्य सम्बन्धी खबरलाई मुख्य बनाएर पहिलो पेजमा छापेको छ । जब वुहानको झल्को दियो ! शिर्षकमा नागरिक लेख्छ, दोस्रो लहरले उत्कर्षको बाटो तताउँदै थियो। हरेक घण्टाजसो एकपछि अर्को एम्बुलेन्सको साइरन बजिरहेको सुनिन्थ्यो। जति एम्बुलेन्स भित्रिने क्रम जारी रहन्थ्यो, त्यति आकस्मिक कक्षका शड्ढया पनि थपिने क्रम बढ्दै जान्थ्यो। आकस्मिक कक्षभित्र शड्ढया थप्ने ठाउँको अभाव हुन थालेपछि बाहिर राखेर भए पनि उपचार सुरु हुन थाल्यो। भुइँमा राखेर उपचार गर्न समस्या हुन थालेपछि कुर्सीमा राखेर भए पनि उपचार सुरु भयो। अस्पतालको क्षमताभन्दा बढी बिरामी राखेर यस्तो अवस्थासम्म अस्पतालपरिसर भित्रिएका जति बिरामीलाई सकेसम्म फर्काउने गरिएन। लेखकले अस्पतालको सो अवस्थालाई मानव र भाइरसबीच भएको महायुद्धसँग तुलना गरेका थिए। लेखक अरू स्वास्थ्यकर्मीसँगै आकस्मिक कक्षमा थिए। त्यहाँ एक संक्रमित वयस्क छातीको एक्स–रे गर्न आफैं सवारी चलाएर आएका रहेछन्। सामान्य अवस्थामा आइपुगेका ती संक्रमित अचानक ढले। आकस्मिक कक्षका स्वास्थ्यकर्मीद्वारा बिरामीको तुरुन्त उपचार गरियो र केही घण्टापछि होसमा आए। हिँड्दाहिँड्दै ढलेका अरू पनि थुप्रै संक्रमित देखिरहँदा लेखकलाई ‘वुहानको झल्को’ दिइरहेको थियो।
त्यस्तै नेपाल पक्षको अडानः लोकतन्त्रको रक्षार्थ हस्ताक्षर फिर्ता हुन्न शिर्षकमा अर्को खबरलाई छापेको छ । एमाले नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि जारी गरेको वक्तव्य जालझेलपूर्ण रहेको निचोड निकाल्दै सर्तरहित एकता हुनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनविरुद्ध गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेपछि नेपाल समूहले पनि संसद् विघटन फिर्ता लिए स्वतः हस्ताक्षर फिर्ता हुने बताउँदै सर्तसहितको एकता मान्य नहुने धारणा व्यक्त गरेको हो।
अन्नपूर्ण पोस्ट्ले निषेधाज्ञामा बलमिच्याई शिर्षकमा समाचार छापेको छ । कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ। महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ। एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने। दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता। विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न सुरु गरेको तर्क गर्छन्। जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन्।
राजधानी दैनिकले ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप लगाएको खबरलाई मुख्य बनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ ।




