काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमालेमा एकता आह्वान गर्दै ६ बुँदे अपिल जारी गरेपछि अहिले त्यसको भित्री उद्देश्यबारे व्यापक टीकाटिप्पणी भइरहेको छ ।
कसैले यसलाई माधव नेपाल पक्षमा फुट ल्याउन ओलीले अपिल कार्ड फालेको भनेका छन् कसैले विपक्षी गठबन्धन कमजोर बनाउन क्षेप्यास्त्र प्रहार गरेको ठानेका छन् ।
तर, ओलीको भित्री मनस्थिति भने माधव नेपाल पक्षमा विभाजन ल्याएर केही जनाधार भएका युवा नेतालाई आफ्नो गुटमा तान्ने र चार प्रदेशका आफू निकट मुख्यमन्त्रीको पद थमौती गर्ने रहेको बुझिएको छ ।
माधव नेपाल पक्षले एमालेमा एकता कायम राख्न ०७५ जेठ २ को अवस्थामा पुग्नुपर्ने, फागुन २८ गते गरिएको निर्णय फिर्ता लिनुपर्नेलगायतका माग अघि सारेको छ । तर, ओलीले ०७५ जेठ ३ गतेको अवस्थामा पार्टीलाई लैजाने, तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखिएको छ । यो सर्त भनेको माधव नेपाल पक्षमा विभाजन गर्न ल्याइएको धेरैले बुझेका छन् । सोही कारण ओलीले अपिल कार्ड फालेका हुन् ।
अर्कोतिर अहिले विपक्षी गठबन्धन जसरी अघि बढेको छ, यसले आफ्नो कुर्सीमात्र होइन, आफू निकट चार प्रदेशका मुख्यमन्त्रीको पद पनि जाने निश्चित छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ओली निकट मुख्यमन्त्रीहरू छन् । त्यसैले वार्तारूपी कार्ड फालेमा केही समय अल्मल्याउने र प्रदेशमा बजेट पारित भएपछि आफ्नो रणनीतिअनुसार नै ओली अघि बढ्ने मनस्थितिमा रहेको बताइन्छ ।
विपक्षी गठबन्धन अहिलेकै जसरी अघि बढेमा मुख्यमन्त्रीहरू शेरधन राई, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेलले पाँच वर्ष कुर्सीमा बस्न नपाउने अवस्था देखिसकेको छ ।
ओलीले चार युवा नेतालाई आफ्नो गुटमा ल्याउन अपिल कार्ड फालेपछि माधव नेपाल पक्षले षड्यन्त्र र बेइमानी भनी प्रतिक्रिया दिएको छ । तर, नेपाल पक्षमै रहेका चार नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुसाल छलफलमा जुटेका छन् । योगेशले त तत्काल ओली अपिलको स्वागत गरेका थिए । तर, तीन नेताले केही बोलेका छैनन् ।
ओलीले माधव पक्षलाई विभाजित गर्नकै लागि यो कार्ड फालेको विश्लेषण भइरहेका बेला सोमबार सुरेन्द्र, योगेश, घनश्याम र गोकर्णबीच ‘गोप्य’ छलफल भएको बताइएको छ । सुरेन्द्र पाण्डेको निवासमा चार नेताबीच भएको छलफलमा यदि माधव पक्षलगायतका नेता एमालेमा नरहने भएमा आफूहरू भने ओलीलाई साथ दिने निष्कर्ष निकालेको बुझिएको छ । अहिले माधव समूहको स्थायी कमिटी बैठक जारी छ ।




