काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । मौजुदा सरकारमा रहेका चार मन्त्रीलाई मात्र निरन्तरता दिइएको छ भने तीन जनालाई उपप्रधानमन्त्री बनाइएको छ । यता, जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र दुई राज्यमन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ आजै साँझ ८ बजे गराइने छ ।
अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ र कानुनमन्त्री लीला श्रेष्ठको मात्र पद थमौती भएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बनाइएको छ भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पदबाट हटाएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा पहिलो वरियताको उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल रहेका छन् भने परराष्ट्रमन्त्री सहित उपप्रधानमन्त्री बनेका रघुबीर महासेठलाई दोस्रो वरियता र तेस्रो वरियतामा जसपाबाट मन्त्रिमण्डलमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री बनाइएको छ ।
राजेन्द्र महतोको नेतृत्वमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुने भएका छन् ।
भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।
जसपका एक नेताका अनुसार चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइनेछ भने जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने भएका छन् ।




