काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलाई नयाँ पार्टी गठन गर्न दबाब परेको छ । नेपाल समूहको हिजो बिहीबारदेखि सुरु भएको भर्चुयल केन्द्रीय समितिको बैठकमा अधिकांश सदस्यहरुले नयाँ पार्टी गठन गर्न सुझाव दिएपछि यस्तो दबाब सिर्जना परेको हो ।
केन्द्रीय सदस्यहरुले बोलिसकेपछि स्थायी समिति सदस्यहरुले धारण राखेका थिए । एक केन्द्रीय सदस्यका अनुसार आज बोल्ने अधिकांश सदस्यहरुले ओलीबाट अल्मल्याउने काम मात्रै भइरहेको भन्दै नयाँ क्रान्तिकारी पार्टी गठन गर्नुको विकल्प नभएको सुझाव दिएका छन् ।
आजको छलफलमा स्थायी समिति सदस्य गोकर्ण विष्टले ओली समूहसँग गरेको वार्ताप्रति आफ्नै समुहमा भएको आलोचनाप्रति गुनासो गरेका थिए । उनले इमान्दार भएर गरिएको वार्तालाई लिएर गरिएको आलोचनाले फाइदा नगर्ने भन्दै कम्युनिस्ट आन्दोलन जोगाउन गरिएको प्रयासमा शंका नगर्न आग्रह समेत गरे ।




