काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल समूहले पार्टी भित्रै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको छ । आज बिहीबार नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुयल बैठकले पार्टीभित्रै रहेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको हो ।
पार्टी अध्यक्ष ओलीले वार्तालाई दाउपेचका रुपमा प्रयोग गरेको ‘ब्रिफिङ’ नेता सुरेन्द्र पाण्डेले बैठकमा गरेका थिए । ओली समूहसँग भइरहेको वार्ताबारे नेता सुरेन्द्र पाण्डेले बैठकमा नेताहरूलाई ब्रिफिङ गरेपछि ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस गरेको र वार्ताबाट उपलब्धि हासिल नहुने निष्कर्षमा माधव समूह पुगेको छ ।
पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग छलफल गरिरहेका छन् ।
पाण्डेको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यको भनाई अनुसार ओलीले पार्टी मिल्छ भने संवाद गर्दैमा केही ब्रिगदैन भनेर बसेको तर यसलाई दाउपेचका रूपमा मात्रै प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।
वार्तामा बसेका नेताहरुको ब्रिफिङ सुनेपछि वरिष्ठ नेता झलनाथ खनालले आफ्नो भनाइ राखेका थिए । अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हातार गरिहाल्न नहुने खनालको भनाई छ ।
अझै केही समय ‘केपी ओली प्रवृत्तिविरुद्ध पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूको राय छ ।




