काठमाडौं । कांग्रेसको संस्थापनइतर समूहले भदौभित्रै पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशन र भविष्यमा पर्न सक्ने संवैधानिक संकटका विषयमा बुधबार संस्थापनइतर समूहका नेताहरूसँग गरेको भर्चुअल छलफलमा यस्तो निर्णय भएको हो ।
नेता पौडेलले पार्टीलाई संवैधानिक संकटबाट बचाउन भए पनि भदौभित्रै महाधिवेशन गर्नैपर्ने भन्दै त्यसका लागि सभापतिसमक्ष दबाब सिर्जना गर्नुपर्ने बताएका छन् । ‘अहिले पार्टीको इतिहासमै महत्वपूर्ण संकट आइपरेको छ । सभापतिजी अझै महाधिवेशनका लागि सिरियस हुनुभएको देख्दिनँ । यस्तो महामारीका बीच महाधिवेशन गर्न नेतृत्वले छुट्टै कार्यकौशल देखाउन सक्नुपर्छ । हामी अरू राजनीतिक पार्टीका लागि समेत अनुकरणीय बन्न सक्नुपर्छ । त्यसका लागि विकल्पहरू के–के हुन सक्छन् ? त्यसबारे सभापतिलाई भनौँ,’ नेता पौडेलले भनेका थिए ।
बैठकले सभापति शेरबहादुर देउवालाई दबाब दिने र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पहल गर्ने जिम्मेवारी महामन्त्री डा.शशांक कोइरालालाई दिएको छ ।
महामारीलाई छल्न जिल्लाबाटै मतदान गर्ने वा अनलाइनमार्फत मतदान गर्न सकिने विकल्पमाथि छलफल भएको छ । यस्तै, क्रियाशील सदस्यताको टुंगो नलागेको अवस्थामा निर्विवाद सदस्यहरूबाट महाधिवेशन गर्नसकिने, छिटो छानबिन सकेर पूर्ण सदस्यहरूकै बीचबाट महाधिवेशन गर्ने वा १३औँ महाधिवेशनकै सदस्यहरूलाई आधार मानेर महाधिवेशन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ ।
बैठकमा नेता कृष्णप्रसाद सिटौलाबाहेक सबैजसो नेताहरू सहभागी थिए । महाधिवेशनबारे नेताहरूले भिन्न–भिन्न धारणा राखेका छन् । महामन्त्री कोइरालाले १३औँ महाधिवेशनका क्रियाशील सदस्यहरूबाटै भए पनि भदौभित्रै महाधिवेशन गर्नुपर्ने बताएका थिए ।




