काठमाडौं । नेकपा एमालेका दुई पक्षबीचको विवाद चर्किरहेको बेला दुबै पक्ष आफ्नोतिर अनुकुल वाताबरण बनाउन बैठकमा व्यस्त छन् । दुई पक्षले आज भिन्नभिन्नै बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक राखेका छन्। अपरान्ह ४ बजे बस्ने बैठकमा माधव कुमार नेपाल पक्षलाई बोलाइएको छैन । उता नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि आजै भर्चुअल बैठक बोलाएको छ ।
केही समयदेखि समानान्तर गतिविधि गरिरहेका र ओली पक्षबाट निस्कासनमा परेका खनाल र नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको हो । तर ओली पक्षले भने असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन सूचित गरेका हुन् ।
“अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु,” उनले भनेका छन् ।




