काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरलाई पत्र पठाएको छ । आयोगले दुवै पक्षले पठाएको पत्र नियमावलीको अनुसूचीको ढाँचामा नभएकाले पुनः पत्र लेख्न भनेको छ ।
मंगलबार दुवै अध्यक्षले एक अर्कालाई पार्टीबाट निष्कासन गरेको भन्दै आफ्नो दलको दर्ता किताबबाट विवरण हटाइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।
‘दुवै पक्षलाई अनुसूचीको ढाँचामा विवरण पेस गर्न लेखेर पठाएको छौँ,’ प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘ठाकुरलाई भने केन्द्रीय समिति सदस्यको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपी पनि पठाउनु भनिएको छ ।’
उपेन्द्र यादव पक्षको सोमबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्र शुक्लालाई निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय मंगलबार मात्रै आयोगलाई जानकारी गराएको थियो ।
ठाकुर पक्षले भने यादव समूहको निर्णय सार्वजनिक भएपछि बुधबार यादवलाई निष्कासन गर्ने निर्णय गरेका थिए । ठाकुर पक्षले पनि बुधबारै आयोगलाई पत्र पठाएको थियो ।




