देश

माधव नेपाल पक्षलाई कारबाही गर्नबाट किन पछि हटे ओली ?

काठमाडौँ । एमालेमा देखिएको किचलो मत्थर हुने संकेत देखिएको छ । दोस्रो तहका नेताहरूले हस्तक्षेप गर्दै नेतृत्वलाई सच्चिन दबाब बढाएपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली अलि गलेका छन् ।

यसअघि माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई कारबाही गरेका ओली अब थप कारबाही प्रक्रिया अघि बढाउने मनस्थितिमा नपुग्नुले उनी आफ्नो अडानबाट ब्याक भएको विश्लेषण हुन थालेको छ ।

ओली अहिलेसम्म माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई कुनै पनि हालतमा पार्टीमा फर्काउन तयार देखिएका छैनन् । तर, माधव पक्षका युवा नेताहरूले त्यस्तो अडानमा रहँदा पार्टीले निकै क्षति बेहोर्ने भनेर दबाब बढाएपछि ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्।

माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको बताइएको छ । तर, त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने अडान राखेको उच्च स्रोतले जनाएको छ ।

यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यतिबेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले दोस्रो तहका नेताहरूलाई जनाएका छन्।

नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ। सोमबार राति काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो।

संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *