राजनीति

एमालेमा एकता राख्न भन्दै पाँचतारे होटलमा दोस्रो तहका नेताबीच भेटवार्ता

काठमाडौं । पार्टी विभाजन डिलमा पुगेका बेला एमालेका दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म पाँचतारे होटलमा भेटवार्ता भएको छ ।

दरबारमार्गस्थित याक एण्ड यती होटलमा भएको पाँच घन्टा लामो भेटवार्तामा पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउने बारे सहमति गर्न गठित कार्यदलका अधिकांश सदस्य सहभागी थिए ।

बैठकमा ओली पक्षबाट संगठन विभाग प्रमुख विष्णु पौडेल, नेम्वाङ र प्रदीप ज्ञवाली सहभागी थिए । माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए । नेपाल पक्षले भने जेठ २ मा फर्किनुपर्ने यसअघिको अडानमै कायम राखेको थियो । तर, केपी ओली समूहले जेठ २ मा फर्कन नसक्ने बताइसकेको छ । एमाले स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा भएको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । बैठकमा पार्टीको अनुशासनविपरीतका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे निर्णय हुने बताइएको छ।

स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *