रिबन

अदालतको गरिमामा ठेस पुग्ने चिन्ता

आजका पत्रपत्रिकामा राजनितिक विषयले नै प्राथमिकता पाएका छन् भने अन्य दिनझैं स्वास्थ्य सम्बन्धी समाचारहरुले पनि पहिलो पेजमा स्थान पाएका छन् ।
नागरिक दैनिकले संबैधानिक इजलासबारे उठेको प्रश्नको सम्बन्धमाा सामाग्री तयार पारेको छ । न्यायाधीश निष्ठामा प्रश्न, अदालतको गरिमामा ठेस पुग्ने चिन्ता शिर्षकमा नागरिक लेख्छ, देशमा आइपरेको संवैधानिक र राजनीतिक जटिलताको विषयबारे छिनोफानो गर्ने जिम्मेवारी सर्वोच्च अदालतको हो। हाल उत्पन्न संवैधानिक जटिलताको छिनोफानो गर्न सर्वोच्च अदालतमा गठित संवैधानिक इजलासमा कानुन व्यवसायीले न्यायाधीशको निष्ठामाथि प्रश्न उठाउँदा अदालतको गरिमा र त्यसप्रतिको जनआस्था नै धुमिल हुने हो कि भन्ने चिन्ता बढेको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा राखिएका दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेपछि अब के होला भन्ने अन्योल बढेको छ। यस्तो विवाद निम्त्याउने कारण अदालत आफैं भएको एक पूर्वन्यायाधीश बताउँछन्।
त्यस्तै न्यायाधीशको अडानबारे राजधानी दैनिकले कुरो उठाएको छ । वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान न्यायाधीशले लिएका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिट निवेदनमा संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजकुमार केसी र बमकुमार श्रेष्ठले आफूहरू वकिलले भनेकै आधारमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।
गत शुक्रबारबाट संवैधानिक इजलासमा जारी प्रतिनिधि सभा विघटनविरुद्धको निवेदनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका तर्फबाट बहस गरिरहेका अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता टिकाराम भट्टराईले न्यायाधीश केसी र श्रेष्ठको विषयमा प्रश्न उठाएपछि संवैधानिक इजलास अन्योल बन्न पुगेको छ ।
त्यस्तै जसपा सरकारमा जाने तयारी गरेकोबारे पनि सबै पत्रिकामा खबर छ । सरकारमा सहभागी हुने तयारीमा ठाकुर समूह शिर्षकमा नेपाल समाचार पत्रले खबर छापेको छ । सोमबार प्रधानमन्त्री ओलीले पुनः जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि जसपाको ठाकुर समूह सरकारमा सहभागी हुन मन्त्रीहरूको नामावली तयारीमा लागेको बताइएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित एमाले शीर्ष नेताहरू र ठाकुर–महतो पक्षबीच भएको छलफलमा प्रधानमन्त्रीले सरकारमा चाँडो सहभागी हुन आग्रह गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *