काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का महन्थ–राजेन्द्र समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । आज सोमबार प्रधानमन्त्री निवास बालुवटारमा भएको वार्तामा जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भएको हो । तर त्यसभन्दा अगाडि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन जसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन् ।
दल विभाजनसम्बन्धी अध्यायदेश नल्याइ जसपा सरकारमा सहभागी नहुने भएको छ । महन्थ–राजेन्द्रको पक्षमा ४० प्रतिशत नपुगे पार्टी सदस्यतासमेत खारेज हुने भएकाले अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीसँग पहिले दल विभाजन अध्यायदेश ल्याउन अनुरोध गरेका हुन् ।
जसपामा एकले अर्को पक्षलाई कारवाहीको तयारी गरिरहेकै बेला ठाकुर पक्ष सरकारमा सहभागी हुने तयारीमा जुटेका छन् । आजको बैठकमा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई पार्टी विवादकै बीचमा सरकारमा सहभागी भयो भने झन विवाद बढ्ने र आफ्नो आधिकारिता गुम्ने भएकाले त्यसलाई चाँडै टुंगो लगाएर मात्र सहभागी हुने स्पष्ट पारेका हुन् । जसपामा एकले अर्को पक्षलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।
बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए । जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।




