राजनीति

बाबुरामले गरे जसपा विभाजन हुने संकेत, राखे यस्तो प्रस्ताव

काठमाडौँ । डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका उनले सोमबार सामाजिक सञ्जालमार्फत औपचारिक रूपमै पार्टी विभाजनको प्रस्ताव गरेका हुन् ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो उपेन्द्र यादव र बाबुराम भट्टराईसँग सँगै बस्न चाहेका छैनन् । उनीहरू जसरी पनि प्रधानमन्त्री केपी ओलीको सरकारमा सामेल हुन पार्टी विभाजन गरेर राजपा दर्ता गर्ने मनस्थितिमा छन् ।

दुवै पक्षले एकअर्कालाई २४ घन्टे स्पष्टीकरण सोधेका थिए । जसको समयसीमा हिजो आइतबार नै सकिएको छ । सो समयसीमा सकिएलगत्तै बाबुरामको प्रस्तावले राजनीतिमा तरंग सिर्जना भएको छ ।

समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ–आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव गरेका छन् । जसपा विभाजनको संघारमा पुगेका बेला भट्टराईले नेताहरु तानातानमा नपरी आ–आफ्नो बाटो लागौँ भन्दै पार्टी विभाजनकै प्रस्ताव गरेपछि एक दुई दिनभित्रै पार्टी विभाजन हुने बताइएको छ ।

‘अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणका निम्ति पुरानो भत्कनैपर्छ,’ उनले भनेका छन्, ‘समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रा सँग हुन दिऊँ । हात मिलाएर आ आफ्नो बाटो लागौं । हिडिरहे फेरि भेट हुनेछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *