काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा आज बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको कार्यक्रम छ। जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तीन वटा मतदान केन्द्र बनाइएका छन्।
‘क’, ‘ख’ र ‘ग’ मतदान केन्द्रमध्ये ‘ग’ कोरोना संक्रमित रहेका जनप्रतिनिधिका लागि मतदान गर्ने केन्द्र हो। राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।
आजै मतपरिणाम आउने सम्भावना छ। मतदान सकिएलगत्तै मतगणनाको व्यवस्थापन मिलाइएको छ। निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।




