आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् । संसद् विघटनविरुद्ध परेको रिटमा गठित संबैधानिक इजलासबारे धेरै अधिवक्ताले प्रश्न उठाएका छन् । यो खबरलाई सबै पत्रिकाले उच्च स्थान दिएर छापेको छन् ।
न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न शिर्षकमा राजधानी दैनिकले समाचार छापेको छ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघठनविरुद्ध मुद्दाको दोस्रो दिनको सुनुवाइमा आइतबार पनि बहस गर्ने क्रममा मुद्दाका पक्षधर कानुन व्यवसायीले अनौठा र हठयुक्त तर्क गरेका छन् । उनीहरूले न्यायाधीशको निष्ठामाथि बारम्बार प्रश्न उठाउँदै घुमाउरो रूपमा संवैधानिक इजलासमा आफू अनुकूलका न्यायाधीश राख्नुपर्ने हठ गर्दै कानुनी शासनमाथि नै गम्भीर धावा बोल्न खोजेका छन् । उनीहरूको न्यायाधीशमाथिको बारम्बारको हमलाले कानुनी शासनको उपहास हुन पुगेको कानुनविद्को तर्क छ ।
त्यस्तै खोपका लागि राष्ट्रपतिको कूटनीतिक सक्रियता बढेको खबरलाई पनि राजधानी दैनिकले छापेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता जारी राखेकी छन् ।
इजलास गठनमै अल्झियो सुनुवाइ शिर्षकमा नागरिक दैनिकले खबर छापेको छ । विघटित प्रतिनिधिसभाका देउवालगायत १४६ जना सदस्यका कानुन व्यवसायीले आइतबारको सुनुवाइमा पनि इजलास गठनमा प्रश्न दोहो¥याए। यसअघि शुक्रबार नै देउवा पक्षधर अधिवक्ता गोविन्द शर्मा बन्दीले इजलास गठनको विषयमा प्रश्न उठाएका थिए। इजलास गठनमा प्रश्न उठेपछि सोही इजलासले निरन्तरता पाउने वा परिवर्तन हुने भन्ने निक्र्योल भइसकेको छैन। मुद्दामा मंगलबारका लागि सुनुवाइ तोकिएको छ।
त्यस्तै अन्नपूर्ण पोस्ट्ले जसको गाउँ चीनतिर परेथ्यो…शिर्षकमा मुख्य समाचार छापेको छ । गोरखाको एक विकट गाउँको कथा समाचार छ । ६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो। नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए। तर, ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा भयो। यताको अवस्था भने जहाँको तहीँ हुँदा लामालाई पछुतो लाग्दो रहेछ। उनी अहिले न फर्केर उता जान सक्छन् न त यहाँ आशालाग्दो वातावरण छ।
चीनले रुईलाई सन् १९६० मा अधिनमा लिएपछि उनी बुवाआमाको पछि लागेर गोरखाको साम्दो गाउँ आएर बसेका थिए। त्यति बेला उनी १५ वर्षका आलाकाँचा थिए। अहिले ७६ वर्षका भुक्तभोगी भए। सुखको आशामा यता आए पनि झन् दुःख झेल्नुपर्दा आधा रात सुतेर, आधा रात सोचेर बिताउने गरेको उनी बताउँछन्।




