काठमाडौं । केही दिनयता राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको खुबै गुनगान गाउन थालेका छन् । ओलीले आफ्ना विरोधीलाई सिध्याउन प्रतिनिधिसभा विघटन गरेर अध्यादेशबाट सरकार चलाउन थालेकोमा थापा निकै हर्षित भएका छन् । त्यसैले अहिले उनी प्रतिनिधिसभा भंग र मध्यावधि निर्वाचनको स्वागत गरिरहेका छन् ।
यतिबेला कमल थापा ओली सरकारमा सामेल हुँदै भन्ने हल्लाले राजनीतिक बजार तताएको छ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् विस्तारको तयारी थालेको र जसमा थापा पनि मन्त्री बन्ने चर्चा छ । रिक्त आठवटा मन्त्रालयमा पदपूर्ति गर्ने तयारीमा रहेका ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष र राप्रपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको एमालेकै नेताहरू बताउँछन् ।
जबकि ओली सरकार नै कहिलेसम्म रहन्छ भन्ने सर्वोच्च अदालतको आदेशपछि मात्रै थाहा हुन्छ । तर राप्रपा अध्यक्ष थापा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा जाने हल्ला निकै चलेको छ ।
हालै थापाले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गोप्य भेटघाट गरेपछि उनको टोन परिवर्तन भएको हो । कतिसम्म भने कमल थापा सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि ओली नै प्रधानमन्त्री हुन्छन् भन्नेमा ढुक्क छन् । तर, संसदको अंकगणित थापाले बुझे जस्तो सहज छैन ।




